गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट, ३० घण्टाभन्दा बढी उडान

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजबाट शुरु भएको छ । उक्त उडानका लागि ल्याएको जहाजले ३० घण्टाभन्दा बढी उडान गरेर जडित यन्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आजबाट शुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछन् भने शनिबार बिदा हुने प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्ण रुपमा ठप्प हुने कर्णले जानकारी दिनुभयो । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको उहाँले बताउनुभयो । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।

नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये पूर्णरुपमा यान्त्रिक हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै पहिलो रहेको प्राधिकरणले जनाएको छ । फागुन १५ गते उडान सम्पन्नसँगै उक्त रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडान शुरु हुने प्राधिकरणको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ ।

रासस