कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपास्थित

काठमाडौँ — प्रतिनिधि सभाको बुधबारको एजेन्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा सत्तारुढ नेकपा माओवादी केन्द्रले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने कार्यसूची राख्न नमिल्ने कुरा उठाउँदै छ ।

यता कांग्रेसले भने एमसीसी टेबुल गर्ने एजेन्डा राख्नुपर्ने कुरा उठाउँदै छ । प्रमुख प्रतिपक्षी दल एमाले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएको छैन ।

सभामुख अग्नीप्रसाद सापकोटाले बुधबारका लागि बोलाएको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ । पार्टीको कामको व्यस्तताले उक्त बैठकमा जान नभ्याइने एमाले सांसद एवं कार्यव्यवस्था समिति सदस्य खगराज अधिकारीले बताए ।

सभामुख सापकोटाले बुधबार १ बजे बस्न लागेको बैठकको कार्यसूची तय गर्न साढे ११ बजे कार्यव्यवस्थाको बैठक बोलाएका छन् । कार्यव्यवस्था समितिको बैठकमा सरकारको तर्फबाट कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी प्रस्तुत गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् । एमाले सांसद अधिकारीले भने‚ ‘हाम्रा माग यथावत् छन् । कार्यव्यवस्थामा जानु र नजानुको अर्थ छैन ।’

त्यस्तै कार्यव्यवस्था समिति सदस्य कृष्णभक्त पोखरेलले भने‚ ‘हामीले सभामुखलाई राजीनामा गर्न भनेका छौं । हाम्रा माग सम्बोधन नगरेकाले सभामुखलाई नै नमानेको र राजीनामाको माग गर्दै आएकाले उहाँले बोलाएको बैठकमा नजानका लागि निर्देशन छ । सदनमा हाम्रो अवरोध भने जारी रहन्छ ।’

देउवा पछि हटे, बुधबार एमसीसी टेबल नहुने

काठमाडौँ — सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटका क्रममा बुधबारको बैठकमा एमसीसी टेबल नगर्ने सहमति बनेको हो ।

पार्टी संसदीय दलको बैठकपछि दाहाल त्यसबारे जानकारी गराउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

देउवा र दाहालबीच बुधबार एमसीसी टेबल नगर्ने र त्यसबारे बिहीबार सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय भएको दाहालको सचिवालयले जनाएको छ । कांग्रेसबाहेक सत्ता साझेदार सबै दल एमसीसी संसद्‌मा पेश गर्न नहुने पक्षमा उभिएका छन् ।