एमसीसी जबरजस्ती पारित गर्न खोजे माओवादी सरकारबाट बाहिरिने

काठमाडौँ- सरकारले सदनमा एमसीसी जबरजस्ती टेबल गरे नेकपा माओवादी केन्द्र सरकारमा नरहने बताएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि माओवादीका प्रमुख सचेतक देव गुरुङले सरकारमा रहेका दलहरूबीच सहमति नगरी एमसीसी पेस भए सरकारमा नरहने जानकारी दिए ।

‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ‘, गुरुङले भने ‘सरकारमा रहेका दलहरूबीचमा सहमति नभइ पेस गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो । त्यस्तो भयो भने सरकारमा रहने कुरा हुँदैन ।’

एमसीसीबारे भोली गठबन्धनको बैठक बसेर टुङ्ग्याइने

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ। बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि एमसीसी टेबल नगर्ने सहमति भएको हो । संसदीय बैठक सकेलगत्तै प्रचण्ड बालुवाटार पुगेर देउवालाई संसदमा आज एमसीसी टेबल गर्न नसकिने पार्टीको अडान रहेको जानकारी गराएका थिए। उनले दलहरुबीच राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने बैठकको निष्कर्ष देउवालाई सुनाएका थिए ।

उनीहरुबीच बिहीबार सत्ता गठबन्धनको बैठक तीन बजे बसेर एमसीसीमा सहमति जुटाउने प्रयास गरिने सहमति भएको छ ।

संसदीय दलको बैठक पश्चात माओवादी केन्द्रले संसदमा एमसीसी प्रक्रिया जबरजस्ती अगाडि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ। प्रमुख सचेतक देवप्रसाद गुरुङले भने ‘गठबन्धनको निर्णयबिना सरकार आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ।’

बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।