एमसीसी पारित गर्नुपर्ने कांग्रेस संसदीय दलको निर्णय
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको छ। मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी संसदमा टेबल गरेर पारित गर्ने निर्णय गरेको हो।
बैठकले एमसीसी सम्झौता संसद् बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र एमसीसीको सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले ओली सरकारको नेतृत्व रहँदा पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने धारणा राखेको स्मरण गराए। ‘एमसिसी संसदमा पेश गर्ने निर्णय केपी ओली सरकार को हो। त्यो निर्णयको स्वामित्व लिँदै अहिलेको सरकारले प्रक्रिया अगाडि बढाएर संसदबाट पारित गर्ने निर्णय भएको छ ।’ उनले भने, ‘संसद एमसीसी सदनमा प्रस्तुत गरेपछि एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा आउँछ भन्ने कुराको बैठकले विश्वास लिएको छ।’ उनले देउवा सरकारले नाफा घाटा जे भएपनि कर्तव्य पूरा गर्ने बताए।
उनले भने, ‘सम्भवत: भोलिको संसद् बैठकमा एमसीसी पेस हुने प्रधानमन्त्री देउवाले विश्वास लिनुभएको छ।’ थापाले प्रधानमन्त्रीले सभामुखलाई एमसीसी टेबल गर्न भनिसकेको जानकारी दिए। थापाले महाअभियोग प्रस्ताव र एमसीसी प्रस्ताव पारित गराउन आवश्यक दुईतिहाइ मत पुर्याउन संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग कांग्रेसले छलफल गर्ने जानकारी दिए। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सत्ता गठबन्धनले संसदमा महाभियोग दर्ता गराएको छ।
कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबारको संसद बैठकमा एमसीसी टेबल हुने बताए। उनले भने, ‘सम्भवत: भोलिको सदनमा एमसीसी पेस हुन्छ।’
बैठकमा पूर्व अर्थमन्त्री एवम् कांग्रेसका नेता डा. रामशरण महतले एमसीसी राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए। महतले एमसीसी पारित हुँदा रोजगारी बढ्ने, आर्थिक गतिविधि र लगानी बढ्ने धारणा राखेका हुन्। महतले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर सम्बन्ध बिगार्न नहुने पनि दाबी गरे। उनले भने, ‘यो राष्ट्रको हितमा छ। राष्ट्रको हित विपरीत हामीले निर्णय गर्नु हुँदैन।’
एमसीसीले दिएको फागुन १६ गते भित्रै नेपालमा अनुमोदन गराउनुपर्ने उनको भनाई छ ।
नाफाघाटा नहेरी एमसीसी पास गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले जिम्मेवार राजनीतिक दल भएकोले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाउने बताएका हुन् । ‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन । जे उचित हो त्यहि निर्णय गर्ने हो’, देउवाले भने । उनले एमसीसीबारे कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै कांग्रेसजति प्रष्ट दल नेपालमै नभएको बताए ।
‘कम्युनिष्टहरू सरकारमा हुँदा एउटा र विपक्षमा हुँदा अर्कै कुरा गर्छन् । कांग्रेसले दोहोरो कुरा गर्दैन । हिजो पनि हामी एमसीसीको पक्षमा थियौं, आज पनि छौं’, देउवाले भने । उनले संसदमा एमसीसी टेबुल गर्ने विषयमा सभामुखसँग आफूले छलफल गरिसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि एमसीसी पारित गर्न सघाउनुपर्ने बताए ।
‘ओलीजी आफैले ल्याएको प्रस्ताव हो नि । एमालेको मुख्य सचेतकले एमसीसी पारित गर्ने षड्यन्त्र भयो भनेछन् । एमालेकै अध्यक्ष प्रधानमन्त्री हुँदा ल्याएको प्रस्ताव पारित गर्दा कसरी षड्यन्त्र हुन्छ ?’, देउवाले भने ।
ओली सरकारले ल्याएको प्रस्ताव संसदले अनुमोदन गर्नुपर्छ : काङग्रेस महामन्त्री गगन थापा
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी प्रकरणमा मुख खोलेका छन् । लामो समय एमसीसीबारे सार्वजनिक अभिव्यक्ति नदिएका थापाले संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकी सहयोग सम्झौता अनुमोदन गर्नेबारे केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको प्रस्ताव पारित हुनुपर्ने बताए ।
एमसीसी सम्झौता तत्काल नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नै संसदमा पेस गरेको भन्दै महामन्त्री थापाले हालको एमाले, माओवादी वा समाजवादी पार्टीसमेत एमसीसीको पक्षमा उभिनुपर्ने बताएका हुन् ।
‘२०७५ साल माघ २५ गते नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी संसदबाट अनुमोदन गराउने र दातृ निकायलाई त्यसबारे जानकारी गराउने निर्णय गरेको रहेछ । सोहीअनुसार एमसीसी सम्झौता २०७६ असार ३० गते संसदमा दर्ता भएको देखिन्छ । कांग्रेसले प्रतिपक्षमा हुँदै २०७६ मा एमसीसी सम्झौता संसदमा टेबुल हुनुपर्ने निर्णय गरेको सन्दर्भलाई समेत स्मरण गरी अबको संसद बैठकमा सो सम्झौता टेबुल हुनुपर्छ’, थापाले भने ।
उनले एमसीसीलाई संसदसम्म पुर्याउने नेताहरू आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने समेत बताए ।
‘हिजो एउटै पार्टीमा हुँदा उहाँहरूकै नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णय गरेको देखिन्छ । त्यसप्रति आज जुनसुकै पार्टीमा भएपनि उहाँहरुले प्रतिबद्धता पूरा गर्नुहुने विश्वास छ’, थापाको भनाइ छ ।
उनले कांग्रेसले प्रतिपक्षमा छँदै एमसीसी अनुमोदनको पक्षमा निर्णय गरिसकेको भन्दै सरकारमा पुगेपछि कांग्रेसको धारणा नबदलिएको बताए ।महामन्त्री थापाले संसदीय दलको बैठकमा बोल्ने क्रममा पनि एमसीसीमा सबै दलहरुको संलग्नता पुष्टी भइसकेकोले एमाले, माओवादी वा समाजवादीले उन्मुक्ति नपाउने बताएका थिए ।