सर्वदलीय बैठकमा एमाले नजाने, चार न्यायाधीशविरुद्ध पनि महाअभियोग ल्याउने

काठमाडौँ — सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा नजाने भएको हो । ‘यस्तो अवस्थामा सर्वदलीय बैठकमा कसरी बस्न सकिन्छ र ? न्यायालयमाथि यति गम्भीर निर्णय गर्दा पनि प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह छैन । सभामुख ज्यूको त कुरै नगरौं । सरकारको यस्तको भूमिकाका कारण हामी सर्वदलीय बैठकमा बस्न सक्दैनौं,’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले इकान्तिपुरसँग भने ।

प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाअभियोगलाई उनले सरकारको एकलौटी निर्णय भन्दै त्यसबारे छलफल गर्न एमाले जान नसक्ने बताएका थिए । सोमबार नै एमाले संसदीय दलको बैठक बानेश्वरमा बस्दैछ ।

त्यस्तै नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनमा आवद्ध प्रमुख तीन दलले प्रधानन्यायाधीविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेपछि एमालेले चार चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिए । यसबारे आजको संसदीय दलको बैठकमा छलफल हुने उनले बताए । एमालेले यसअघिदेखिनै प्रधानन्यायाधीशसहित पाँचै जनाविरुद्ध महाअभियोग लगाउनुपर्ने बताउँदै आएको थियो । महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

सभामुख सापकोटाको आचरणविरुद्ध प्रस्ताव ल्याउने एमालेको तयारी

त्यस्तै नेकपा एमालेले सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव ल्याउने तयारी गरेको छ । आइतबार प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जवरालाई सत्तारुढ दलहरूले महाअभियोग लगाएपछि एमालेले सभामुख सापकोटाविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव ल्याउने तयारी गरेका हुन् ।

‘सभामुखलाई नै महाअभियोग लाउनुपर्छ भन्‍नेमा हामी छौँ’ नेकपा एमाले नेता शेरबहादुर तामाङले इकागजसँग भने ‘सभामुखप्रति हाम्रो असहमति छ ।’

सभामुख सापकोटाविरुद्ध महाअभियोगबारे आज बस्‍ने एमालेको संसदीय दलको बैठक छलफल हुने तामाङले बताए ।