मान्छे कुट्ने म्यानपावरबाट ठगिएकाहरू स्वदेश फर्किए
काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षण निकै छ । घर परिवार अनि परिवेश छाडेर परदेश पुगेर काम गर्नु कसैका लागि रहर हो भने धेरैका लागि बाध्यता । आफू जन्मेको देश, हुर्केको टोल र समाज छाडेर खाडी छिर्नुपर्दा कतिको मन कुटुक्क हुन्छ । पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्र दलालहरुका कारण धुमिल बन्न थालेको छ । बेरोजगार यूवाहरुको विवशताको फाइदा उठाउँदै म्यानपावर कम्पनी र तिनका दलालहरुले भिजिट भिसामा समेत खाडी मूलुकमा पठाउँछ । तर, भने जस्तो काम नदिने, अलपत्र पारिदिने प्रवृति बढेको छ ।
केहीदिन अघि काठमाडौँको सामाखुसीमा रहेको ट्रिपल स्टार म्यानपावर कम्पनीले भूतपूर्व नेपाल प्रहरी, नेपाली सेनाका सुरक्षाकर्मीहरुलाई युएईमा सेक्युरिटी गार्डमा काम मिलाइ दिने भनेर त्यहाँ पुर्यायो । तर ती सबैलाई बिचल्लीमा पारिदियो । अप्ठ्यारोमा परेकाहरुको उद्दारको माग गर्दै ट्रिपल स्टार पुगेका पीडितका आफन्तमाथि म्यान पावरका सञ्चालकहरुले गुण्डा लगाएर कुटपिट नै गराएको विषय यसअघि नै आइसकेको छ ।
स्वदेशमा उनीहरुका आफन्त कुटिएको तनाब, प्रदेशमा भने म्यानपावरका सञ्चालकको लाइफ ड्यामेज गरिदिन्छु भन्नेसम्मका धम्की । यस्तै यस्तै पीडा भोग्न बाध्य यूवाहरुको अन्ततः सकुशल उद्धार भएको छ । सोमबार स्वदेश फर्किएलगत्र्त न्यूज २४को कार्यालय आएका पीडितहरुले आफूहरुले भोग्नु परेको दुःख पीडाको वृतान्त सुनाए ।
ट्रिपल स्टार म्यानपावर कम्पनीबाट युएई पुगेर अलपत्र परेका नेपाली यूवाहरुको उद्धार भएको छ । सेक्युरिटी गार्डको कामका लागि युएई पुगेका अलपत्र परेका ८ जना भुतपूर्व नेपाल प्रहरी, नेपाली सेनाका सुरक्षाकर्मीहरु सोमबार स्वदेश फर्किएका हुन् । सोमबार स्वदेश फर्किएलगत्तै न्यूज २४ कार्यालयमा आएका पीडितहरुले आफूले भोगेका दुःख, पीडा सुनाए ।
जनही ८ लाखसम्म असुलेर युएई पु¥याउने, अनि गुनासो गर्न जानेहरुमाथि गुण्डा परिचालन गरेर कुटपिट गराउने काम उल्टै ट्रिपल स्टार म्यानपावरले गरेको थियो । पीडितहरुका आफन्तहरु उद्धार गरिदिन आग्रह गरेका थिए ।
‘हामी ठिक छौँ’ भन्ने प्रमाणका लागि भिडियो बनाउँन म्यानपावरको दबाब
नोबेम्बर २ तारिखमा दुबई पुर्याइएका पीडतहरुलाई म्यानपावरले न सेक्युरिटी गार्डमा काम लगायो, न त खाना बस्नको उचित सुविधा नै दियो । त्यसमाथि न्यूज २४ टेलिभिजनमा समाचार प्रशारण भएपछि म्यानपावर संचालकले झनै धम्की दिएको पीडितहरुले बताए । यतिसम्म कि ‘आफूहरुले बोलेका सबै कुरा झुठो हो, हामी ठिक छौँ भन्ने आशयको भिडियो बनाएर पठाऊँ’ भन्ने दबाब म्यानपावरले उनीहरुलाई दियो ।
भिजिट भिसामै जान बाध्य पारियो
पीडितहरुका अनुसार उनीहरुले दुई वर्ष अघिदेखि नै पत्रिकामा सेक्युरिटी गार्डको जागिरका लागि दरखास्त देखेपछि प्रकृया सुरु गरेका थिए । तर, म्यानपावरले भिजिट भिसामा पठाउँने प्रकृया सुरु गरेपछि उनीहरुले जान अस्विकार गरे । तर, अग्रिम बुझाएको २ लाख रकम डुब्ने देखेपछि थप रकम बुझाएर भिजिट भिसामै जान बाध्य भएको पीडितहरु बताउँछन् ।
उनीहरु सबैले म्यानपावरका संचालक मध्येका एक रुद्र बहादुर रानालाई जनही ७ देखि ८ लाखसम्म बुझाए । तर, हालसम्म उनीहरुको जनही झण्डै १० लाखसम्म खर्च भइसकेको छ ।
क्षतीपूती पाउँनु पर्ने माग
म्यानपावरले पीडितहरुबाट झण्डै १० लाखसम्म असुलेको पाइएको छ । उनीहरु सबैले हातमा नगद रकम बुझाएको बताएका छन् ।