एमसीसी र संसद् अवरोध खुलाउनेबारे ओली-कोइराला भेटवार्ता
काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी ओली र कांग्रेस नेता शेखर कोइरालाबीच मंगलबार साँझ भेटवार्ता भएको छ । नेता कोइराला प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । कोइरालाले साँझ ओलीसँग भेटवार्ता गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
भेटमा ओली र कोइरालाबीच अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेससन (एमसीसी) सम्झौता र प्रतिनिधिसभामा एमालेले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको थपलियाले बताए ।
पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालासँग सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने छलफल गरेका छैनन् । ओलीले आइतबारमात्रै प्रधानमन्त्री देउवालाई भेटेका थिए । ओलीसँगको छलफलपछि प्रधानमन्त्री देउवाले सोमबार मन्त्रिपरिषद् बैठकबाट सत्ता गठबन्धनको सहमतिविपरीत स्थानीय तह निर्वाचनको मिति तोकेका थिए । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तोकेको छ ।
ओली र कोइरालाबीच साढे दुई घण्टा भेटवार्ता भएको छ । भेटमा नेता कोइरालाले लोकतान्त्रिक व्यवस्थामा जनताको प्रतिनिधि संस्था प्रतिनिधिसभाबाटै निकास खोज्न उपयुक्त हुने भन्दै संसद्मा निरन्तरको अवरोध खुलाउन आग्रह गरेका थिए । ‘सधैं संसद् अवरोध गर्नु र संसद्लाई बन्धक बनाउनु न्यायपूर्ण भएनँ । संसद्मा अवरोध अन्त्य गर्नुस्, संसद्भित्रैबाट निकास खोजौं,’ भेटमा कोइरालाले भनेका थिए ।