स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गर्यो ।’आयोगले जेठ ४ गते निर्वाचन गराउने प्रस्ताव गरेको थियो, सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय गरेको छ । वैशाख ३० गते वा जेठ ४ गर्दा कानुनमा खासै परिमार्जन गर्नु नपर्ने जानकारी निर्वाचन आयोगले गराएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन । ४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।
मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।