बेलायतमा नेपाली वस्तुको प्रवर्द्धन गराउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यसँग अनुरोध
काठमाडौँ — बेलायतमा नेपाली वस्तुको प्रवर्द्धन गराउन उद्योगी व्यवसायीहरूले बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघ तथा उद्योग परिसंघका पदाधिकारीसँग आचार्यले गरेको छुट्टाछुट्टै भेटवार्ताका क्रममा यस्तो आग्रह गरिएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताए ।
गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए । पछिल्लो समय व्यापार पुर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए । पुर्वाधार, श्रम सम्बन्ध, विद्युत् आपूर्ति आदिमा उल्लेख्य सुधार भइरहेको विषय बेलायतका लगानीकर्तालाई स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै उद्योग परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न आचार्यसँग आग्रह गरेको छ । परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको छ ।
छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए । ‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवर्द्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त संभावना छ ।’
दुबै पक्षसँगको छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवर्द्धनका लागि आफूले काम गर्ने बताए । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफीजस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवर्द्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे ।
आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए । महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरिएको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र काम गर्न सहज हुने आचार्यले बताए ।