अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि राफल नाडालले जिते

पाँचौ वरीयताका नाडालले २१ औं पटक ग्रान्डस्लाम उपाधि जित्दै कीर्तिमान बनाए

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । यससँगै पाँचौ वरीयताका नाडालले २१ औं पटक ग्रान्डस्लाम उपाधि जित्दै कीर्तिमान बनाएका छन् ।

५ घण्टा २४ मिनेट चलेको फाइनलमा सुरुआती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले दोस्रो वरीयताका मेदभेदेबलाई हराएर उपाधि चुमेका हुन् । मेदभेदेभले पहिलो सेट ६–२ तथा दोस्रो सेट ७–६ (७–५) ले जितेका थिए । तर, नाडालले लगातार तेस्रो र चौथो सेट जित्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाए ।

नाडालले तेस्रो सेट ६–४ र चौथो सेट पनि ६–४ ले आफ्नो पक्षमा पारे । त्यसपछि नाडालले पाँचौ सेट ७–५ ले जित्दै कीर्तिमानी उपाधि हात पारे । ३५ वर्षीय नाडालको यो दोस्रो अष्ट्रेलियन ओपनको उपाधि हो । नाडालले २००९ मा पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

नाडालले फ्रेन्च ओपन १३ पटक, विम्बल्डन २ पटक तथा युएस ओपन ४ पटक जितेका छन् । नोभाक जोकोभिच र रोजर फेडररले समान २०–२० पटक ग्रान्डस्लाम हात पारेका छन् । मेदभेदेभले भने दोस्रो पटक ग्रान्डस्लाम जित्न असफल भए ।

यस अघि मेदभेदेभले युएस ओपनको उपाधि हात पारेका थिए ।