प्रधानमन्त्री देउवाद्वारा शहीद स्तम्भमा माल्यार्पण
काठमाडौं, माघ १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले, देशको स्वाधिनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा शहीद भएको बताउनु भएको छ । शहीद र शहीद परिवारको सपना पूरा गराउन सरकारले उहाँहरुको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको र ती कार्यक्रमहरुले निरन्तरता पाउने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ । यसले शहीदको सपना पूरा हुन्छ । सरकारले आगामी कार्यक्रमलाई यही बाटोमा लैजाने योजना बनाएको छ ।’
१९९७ सालमा प्राणको आहुति दिने शहीद र त्यसपछि परिवर्तनहरुमा ज्यान गुमाउनेको सम्मानमा काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएको छ । कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले, शहीदले देखाएको बाटोमा हिँडनु पर्ने बताउनुभयो । मेयर शाक्यले, चार सहिदको पूर्ण कदको शालिक स्थापना गरेको, धर्मभक्त माथेमाको नाममा मानव सेवा आश्रम बनाउन लागिएको, सहिदका नाममा पार्क र सामाजिक सेवा स्थल निर्माण गर्न लगानी गरिएको उल्लेख गर्नुभयो ।
शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको हो । स्मारकमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।
शहीद स्तम्भमा गृहमन्त्री बालकृष्ण खाँण, सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, कार्यपालिकाहरुसहित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । कोविड संक्रमणका कारण यस बर्ष तोकिएका सीमित व्यक्तिहरुका विच मात्र कार्यक्रम गरिएको थियो ।