मनाङलाई हराउँदै एपीएफ पहिलोपटक आहा राराको च्याम्पियन

पोखरा । आहा-रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफले जितेको छ । शनिबार पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको थियो ।

पेनाल्टी सुटआउटमा ओलावाले अफिज असफल भएपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित बन्यो । उनको प्रहारलाई एपीएफका जापानी गोलकिपर युया कोरियामाले रोकेका थिए । एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने । मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।

उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलको अग्रता विभागीय टिम एपीएफ एफसीले लिएको थियो । खेलको २० औं मिनेटमा युवराज खड्काले विभागीय टिम एपीएफलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६७ औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए । कप्तान बिमल रानाको क्रसलाई सदुपयोग गर्दै सिंहले गोल गरेका थिए । खेल सकिन ६ मिनेट अघि फ्रेङ्कलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । फ्रि–हेडमा हाईटको फाइदा उठाउँदै फ्रेङ्कलिनले गोल गरेका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमै एपीएफका रबि थिङले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए ।

घरेलु लिगमा रेलिगेशनबाट बच्न संघर्षरत एपीएफले मोफसलको प्रतिष्ठित गोल्डकपमा भने उपाधि चुमेको छ । प्रतियोगिताको विधागतर्फको पुरस्कारमा समेत एपीएफकै बर्चस्व रह्यो । एपीएफका राजन गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

एपीएफका कुमार थापा प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै, एपीएफका रबि थिङ उत्कृष्ट मिडफिल्डर, एपीएफका राजन गुरुङ उत्कृष्ट डिफेन्डर, एपीएफका कुरियामा उत्कृष्ट गोलकिपर र एपीएफकै रबि थिङ सर्वाधिक गोलकर्ता चुनिए ।

मनाङका अलावले अफिज उत्कृष्ट फरवार्ड चुनिए । उनै अफिज पेनाल्टीमा चुक्दा ६ पटकको प्रतियोगिताको विजेता मनाङ उपाधिबाट बञ्चित बनेको थियो । विभागीय टिम आर्मीले फेयर प्ले अवार्ड प्राप्त गर्दा मनाङका रुपेश केसी प्लेयर अफ द फाइनल चुनिए ।