श्रममन्त्री श्रेष्ठको एक्सनपछि दलालहरुको भागदौड
काठमाडौं । वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कडाईका साथ उत्रिएका छन् ।ठगीमा परेकाहरुको उजुरी र जानकारी पाउनासाथ एक्सनमा उत्रिने गरेका श्रममन्त्री श्रेष्ठको कडाईका कारण पीडितहरुले राहतको अनुभूति समेत गर्न थालेका छन् ।मन्त्री श्रेष्ठ कडाई एक्सनमा उत्रिएपछि दलालहरुको भागदौड मच्चिएको छ । पछिल्लो समयमा भिजिट भिसामा दुवई पुर्याएका नेपाली कामदारहरुको उजुरीमा मन्त्री एक्सनमा उत्रिएका छन् । उनको एक्सनपछि दलालहरुको भागदौड मच्चिएका छ ।
दुवई र नेपालमा रहेका दलालहरु दुवईमा अलपत्र परेका नेपाली कामदारहरुलाई नेपाल फर्काउन सहमत भएका छन् । अलपात्र पारेका नेपालीहरुमध्ये २८ जना नेपाल आइसकेका छन् । विहीबार पीडितको गुनासो सुन्दैगर्दा मन्त्री श्रेष्ठलाई ‘मुख्य दलाल’ भनिएका कमल उपाध्यायले ह्वाटसपमा फोन गरेका थिए । त्यसबेला पनि मन्त्री श्रेष्ठले भिजिट भिसामा दुवई पुर्याइएका कामदारहरुलाई तत्काल रोजगारीमा लगाउन वा नेपाल फर्काउन भनेका थिए ।
ठगीको आरोप लागेका उपाध्यायलाई मन्त्री श्रेष्ठले ‘भाइ’ भन्दै सम्बोधन गरे । उनले भने, ‘भाइ, अरु कुरा जान्दिन, कि रोजगारी लगाउनुस, कि त तत्काल नेपाल फर्काउनुस्, होइन भने दुवई आएरै पक्रेर नेपाल ल्याउन नपरोस् ।’
भिजिट भिसामा दुबई पुराउने गरेका बिषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए । ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उनले जानकारी दिए ।उनले मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताए । दुख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारवाही गर्ने उनले स्पष्ट पारे ।
त्यस्तै पीडित युवाहरुले आफुहरुले चर्को मूल्य तिरेर केहि व्यक्तिमार्फत दुवई गएको र अलपत्र परेको गुनासो गरे । उनीहरुले आकर्षक तलवको बहानामा आफुहरुलाई झुक्काएको बताएका थिए । पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।
भिजिट भिसामा ठगी गर्नेलाई कारबाही गर्न मार्सल टिम गठन
सरकारले भिजिट भिसाका नाममा ठगी गर्नेलाई तत्काल कारबाही गर्न मार्सल टिम गठन गरेको छ।गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित सात सदस्यीय समितिको सिफारिसपछि श्रम मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डमा प्रहरी टोली समेत रहनेछ ।ठगी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउने गृह मन्त्रालयले जनाएको छ।यस्तै ठगीमा संलग्न संस्था तथा व्यक्तिका खाता रोक्का गर्नका लागि राष्ट्र बैंकलाई आग्रह समेत गरेको छ ।
भिजिट भिसामा खाडी मुलुकमा जानेहरूको समस्या समाधान गर्ने योजना पेस गर्न यसअघि गठित समितिलाई भनिएको थियो ।समितिको सिफारिस अनुसार कारबाहीका लागि गृह मन्त्री बालकृष्ण खाँण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तदारुकता देखाएका हुन्।
भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा नेपालीहरु अलपत्र पर्ने क्रम बढेपछि भिजिट भिसामा कडाइ गरिएको छ ।