राष्ट्रिय सभा निर्वाचनको मतदान जारी
काठमाडौं : राष्ट्रिय सभा सदस्य चयनका लागी मतदान जारी रहेको छ। बिहान ९ देखि मतदाता मतदान केन्द्रमा लाइनमा बसेर मतदान गरिरहेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थलभित्र २/२ वटा मतदानकेन्द्र रहने गरी ८ मतदानस्थलमा १४ वटा मतदानकेन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेश १ मा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानस्थल तोकिएको छ ।
त्यस्तै प्रदेश २ को लागि महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदास्थल रहने गरी तोकिएको छ । ८ मतदानस्थल र १४ केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान हुनेछ। नतिजा बुधबार रातिनै आउने सम्भावना रहेको निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताए ।
१९ राष्ट्रियसभा सदस्यका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ दलका ४३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्। आयोगका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।
प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ जना मतदाता हुनेछन् । स्थानीय तहका १ हजार ४ सय ९३ र प्रदेशसभाका ५ सय ३२ मतदाता रहनेछन् । एमालेका ८, नेकपा (एकीकृत समाजवादी) का ४, माओवादी केन्द्रका ४ र कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ। पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ ।
५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।