जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप
धनुषा — जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा झडप भएको हो । प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए । प्रदर्शनकारीहरूको संख्या बढ्दै गएपछि जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पूर्वघोषित किसान आन्दोलनअन्तर्गत बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई जनमत पार्टीले ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । ज्ञापन पत्र बुझ्न आनाकानी गरेको भन्दै मुख्यमन्त्री जहाँ देखिए त्यहीँ ज्ञापनपत्र बुझाउने जनमत पार्टीले जनाएको छ ।
यता राष्ट्रियसभाको मधेस प्रदेशको मतदान बिहान साढे ९ बजे देखि सुरु भएको छ । मतदानस्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सरकारी गाडी तोडफोड, मेयर र उपमेयर घाइते
त्यस्तै जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताले सरकारी गाडी तोडफोड गरेका छन् । बाँसका भाटासहित आज प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर, उपमेयरलगायत सवार सरकारी गाडी तोडफोड गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउँदै गर्दा मेयर र उपमेयर सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन् । तिरहुतीया गाछीमा उनीहरूले सरकारी गाडी रोकेर तोडफोड गरेका थिए ।
भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको गाडीमा सवार रहेका नेकपा एमालेका नेता खेमराज भट्टराईले बताए । भट्टराईसँगै गाडीमा मेयर गणेश प्रसाईं र उपमेर रेणुका पौडेल थिए। उनीहरूलाई पनि चोट लागेको छ ।
‘हामीलाई घेरेर आक्रमण गरे। गाडीका सीसा फुटाइदिए,’ उनले भने, ‘टाउको र हातमा लाठी हाने, चोट लागेको छ ।’ आज बिहानैदेखि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता बाँसका भाटा लिएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले टायर बालेर पनि प्रदर्शन गरेका थिए ।
किसानलाई पहिले मल उपलब्ध गराउनुपर्ने अनि मात्रै भोट दिने भन्दै उनीहरूले प्रदर्शन गरेका छन् । मतदान केन्द्रमा प्रवेश गर्न खोजेपछि तितरबितर गर्न आज बिहान प्रहरीले अश्रुग्यास प्रहार पनि गरेको थियो ।