लण्डन निवासी दन्त चिकत्सक डा. कपिल रिजालको नयाँ चलचित्र “ह्यारीकी प्यारी” छायांकन हुँदै

कुनै बेला हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः चलचित्र क्षेत्रमा फर्किएका छन् । उनी ‘ह्यारीकी प्यारी’ नामक रोमान्टिक कमेडीमार्फत् चलचित्र क्षेत्रमा फर्किएका हुन् । चलचित्रको सोमवारबाट पर्वतको भुक देउरालीमा छायाँकन शुरू भएको छ । चलचित्रको निर्देशन स्त्री रोग विशेषज्ञसमेत रहेका डा. रिजालका छोरा दन्त चिकित्सक डा. कपिल रिजालले गर्दैछन् ।

लण्डनको दन्त चिकित्सा क्षेत्रमा साढे दुई दशकदेखि लोकप्रियता कमाउँदै आएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरू गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् । उनले नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । फिचर फिल्म भने ‘ह्यारीकी प्यारी’ उनको डेब्यू चलचित्र हो ।

निर्देशक डा. कपिलका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म फिल्मको छायाँकन हुनेछ भने बाँकी काठमाडौंमा गरिने छ । युनिट पर्वत प्रस्थान गर्नुअघि युनिटका सहभागी सबै कलाकार तथा प्राविधिकको पीसीआर परीक्षण गरिएको र खोप लगाएका कलाकार तथा प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको निर्माण पक्षको दाबी छ ।

छायाँकन शुरू गर्नुअघि जितु नेपाल र विजय बरालले मुहूर्त सट दिएका थिए । फिल्ममा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिनेछन् । जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गर्दैछन् ।

चलचित्र डा. भोला रिजालको बीआर प्रडक्सनको व्यानरमा निर्माण भइरहेको छ । फिल्ममा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहने निर्माण पक्षले जनाएको छ ।