सर्वदलीय बैठक बोलाइएकै थिएन, नेकपा एमालेलाई पनि कुनै जानकारी नआएको

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सर्वदलीय बैठक नबोलाइएको बताएको छ । आज बिहान ९ बजे बैठक बस्ने खबरहरु बिभिन्न सञ्चारमाध्यममा आएपछि खबरहबले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई टेलिफोनमार्फत सोधेको थियो । जवाफमा उनले भने, ‘आज बैठक बोलाइएकै छैन।’

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पनि बैठकबारे कुनै जानकारी नभएको बताएको थियो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको बताइएको थियो ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेले कुनै जानकारी नआएको बताएको छ । प्रधानमन्त्री देउवाले आज बिहान ९ बजे बालुवाटारमा बोलाएको बैठकमा कुनै जानकारी नआएको जनाएको हो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी आएको छैन’ एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने । उनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको सहमति नहुने बताए ।