लेवान्डोस्कीले दोश्रोपटक फिफा बर्ष खेलाडी, नेपालबाट क-कसले भोट गरे ?

एजेन्सी । पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफा ‘द बेस्ट’ २०२१ अवार्ड जित्न सफल भएका छन् । स्विट्जरल्याण्डको जुरिकमा सोृमबार राति भर्चुअल माध्यमबाट भएको कार्यक्रममा लेवान्डोस्कीले फिफा ‘द बेस्ट’ २०२१ को अवार्ड जितेका हुन् ।

यससँगै लेवान्डोस्की गत वर्ष जितेको फिफा ‘द बेस्ट’ को अवार्डलाई रक्षा गर्न सफल समेत भएका छन् ।

जर्मन क्लब वायर्न म्युनिखबाट समेत खेल्ने लेवान्डोस्कीले अन्तिम नामावलीमा परेको अर्जेन्टाइन लियोनल मेस्सी र ईजिप्टका मोहमद सलाहलाई पछि पार्दै करियरको दोश्रो फिफा ‘द बेस्ट’ अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीले २०२०–२१ को सिजनमा खेलेको सबै प्रतियोगितामा कुल ४८ गोल गरेका थिए । जसमध्ये ४१ गोल उनले बुन्डेसलिगामा मात्र गरेका हुन् । जारी सिजनमा पनि उत्कृष्ट लयमा देखिएका लेवान्डोस्कीले १९ खेलमा २५ गोल गरिसकेका छन् ।

महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले महिलातर्फ फिफा ‘द बेस्ट’ २०२१ को अवार्ड हात पारिन् । यसबाहेक सेभियाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गरे भने चेल्सीका इडुवार्ड मेन्डीले उत्कृष्ट गोलकिपरको अवार्ड हात पारे ।

डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो ।

नेपालबाट क-कसले भोट गरे ?

जर्मन क्लब वार्यन म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले द वेस्ट फिफा मेन्स प्लेयर २०२१ को अवार्ड जिते । सोमबार राति भएको समारोहमा लेवान्डोस्कीले समग्र भोटमा अघि रहदै अवार्ड पाए ।

विश्वभरबाट गरिएको भोटिङ चार तरिकाबाट भएको थियो। जसमा राष्ट्रिय टिमका कप्तान, राष्ट्रिय टिमका प्रशिक्षक, पत्रकार र फ्यानले भोट गरेका थिए। चारै क्षेत्रको भोटलाई २५–२५ प्रतिशत हिस्सा दिइएको थियो ।

जसमा नेपालबाट पनि भोट गएको थियो। फ्यानका लागि अनलाइन भोटिङ भएको थियो। यो बाहेक राष्ट्रिय टिमका कप्तान किरणकुमार लिम्बु र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भोट गरेका थिए। महिलातर्फ कप्तान रेनुका नगरकोटी र प्रशिक्षक चेतन घिमिरे भोट गरेका थिए।

नेपालबाट पत्रकारले भने भोट गर्ने अवसर पाएनन् ।

मनोनयनमा रहेका मध्ये तीन जनालाई भोट गर्न पाइने प्रावधान थियो । जसमा पहिलो नम्बरमा भोट पाउनेले ५ अंक, दोस्रो नम्बरमा भोट पाउनेले ३ अंक र तेस्रो नम्बरमा भोट पाउनेले १ अंक पाउने प्रावधान थियो ।

नेपालका कप्तान किरणले पुरुष खेलाडीमा पहिलो नम्बरमा लिओनल मेसी, दोस्रोमा क्रिस्टियानो रोनाल्डो र तेस्रो नम्बरमा लेवान्डोस्कीलाई भोट गरेका थिए । यस्तै प्रशिक्षक अलमुताइरीले पहिलो नम्बरमा मोहमद सलाह, दोस्रो नम्बरमा लिओनल मेसी र तेस्रो नम्बरमा जोर्गिन्होलाई भोट दिए ।

किरणले प्रशिक्षकतर्फ रोबर्टो मान्सिनी, लिओनल स्कालोनी र थोमस टुचेललाई भोट गर्दा अलमुताइरीले टुचेल, स्कालोनी र हान्सी फ्लिकलाई भोट गरेका थिए । गोलकिपरको भोटिङमा किरणले डोन्नारूम्मा, मेन्डी र म्यानुअल नेउरलाई भोट गरेका थिए भने अलमुताइरीले मेन्डी, डोन्नारूम्मा र एलिसन बेकरलाई भोट गरेका थिए ।