आहा रारा गोल्ड कपको विजेताले १० लाख १ हजार पाउने, खेल तालिका सार्वजनिक

पोखरा । २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद पुरस्कार पाउने भएका छन् । आयोजक सहारा क्लब पोखराले मंगलबार प्रतियोगिताको विजेताले १० लाख १ हजार पाउने जानकारी गराएको छ । यस्तै उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ । त्यस्तै सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबले जनाएको छ । प्रतियोगिता माघ ६ देखि १५ गते सम्म पोखरा रंगशालामा आयोजना हुनेछ । आयोजकले मंगलबार नै खेल तालिका सार्वजनिक गरेको छ । बिहीबार हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ । यस पटक साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रि स्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, आयोजक सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसएको सहभागिता रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने बताए । प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ भने दर्शकका लागि टिकट भने नकाटिने क्लबले जनाएको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले विषम परिस्थितिमा पनि खेल सञ्चालन गर्न दिएको भन्दै प्रशासनलाई धन्यावद दिए । उनले नवौं राष्ट्रिय खेलकुद पोखरामै हुनुपर्ने भन्दै त्यसको तयारीमा समेत रहेको बताए ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटर, अफिसियल बैंंकका रुपमा लुम्बिनी बैंक रहेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा क्लब हङ्गकङ्ग, र सहारा क्लब अष्ट्रेलियाको सहयोग तथा पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना हुँदै आइरहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ६ लाख ४८ हजार ५ सय खर्च र १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने क्लबको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट सञ्चालित सूर्यबहादुृर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । पोखरा–१७ दोबिल्लामा रहेको एकेडेमीमा २०६१ सालदेखि उनिहरुलाई क्लबले आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण प्रदान गर्दै आइरहेको छ ।