धुर्मुस-सुन्तलीमाथि ठगी आरोप : रकम दुरूपयोगबारे सोच्न पनि सक्दैनौँ !

काठमाडौं : धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)माथि आर्थिक अपचलन तथा ठगीको आरोप लागेको छ । बाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले धुर्मुस-सुन्तलीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । तर, धुर्मुस-सुन्तली फाउन्डेसनले उक्त आरोपको खण्डन गरेको छ । फाउन्डेसनले आफ्नो फेसबुक पेजमार्फत आफूहरूमाथि लागेका सबै आरोप कपोकल्पित रहेको सोमबार बताएको हो ।

अधिकारीले भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारी अनुदानसमेत अपचलन गरेको भन्दै धुर्मुस-सुन्तलीविरुद्ध अनुसन्धानको माग गरेका थिए । सरकारी जग्गा र सरकारी अनुदान पनि खर्च भएकाले अनुसन्धान स्वतः आकर्षित हुने र आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारले जनाएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले ३ वर्षअघि जनस्तरबाट चन्दा उठाइ चितवनमा रहेको कृषि क्याम्पसको जग्गामा रंगशाला निर्माण थालेको थियो ।

आर्थिक प्रगतिसम्बन्धमा फाउन्डेसनका तर्फबाट शुरूका दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरीक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन एक/दुई दिनमै उपलब्ध हुने फाउन्डेसनले जनाएको छ । उक्त प्रतिवेदन सम्बन्धित पक्षलाई बुझाएर फाइनल भएपछि मात्र परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिने फाउन्डेसनले जानकारी दिएको छ ।

स्वदेश तथा विदेशबाट आएको सहयोगले नै रङ्गशाला निर्माणको काम अहिलेको अवस्थामा आइपुगेको र उक्त रकमको दुरूपयोगबारे आफूहरूले सोच्न पनि नसक्ने फाउन्डेसनले फेसबुकमार्फत जनाएको छ ।