लकडाउनको अधिकार सीडीओलाई, उपत्यकाका जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने

सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई

काठमाडौँ — सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष आधारमा ‘लकडाउन’ र ‘निषेधाज्ञा’ लगायत प्रतिकार्य योजना लागू गर्ने जिम्मा प्रजिअको नेतृत्वमा रहेका जिल्लास्थित संयन्त्रलाई दिइएको हो ।

‘कोभिड संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रण गर्न एकीकृत कोभिड रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना ०७८ र स्मार्ट लकडाउन कार्यविधि ०७८ को कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीले पहल गर्ने’ गृह मन्त्रालयले सोमबार गरेको आन्तरिक परिपत्रमा भनिएको छ ।

कार्यविधिअनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) र जिल्ला सुरक्षा समितिमार्फत आवश्यक कदम चाल्न सक्ने उल्लेख छ । दुवै संयन्त्रको प्रमुख प्रजिअ रहने व्यवस्था छ । डीसीसीएमसीमा चारवटै सुरक्षा निकाय, स्थानीय तह, जिल्लास्थित जनस्वास्थ्य प्रमुख, उद्योग, वाणिज्य संघका प्रतिनिधिलगायतको उपस्थित रहन्छ । सोही समितिको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले मानिसको आवागमन नियन्त्रणदेखि जनस्वास्थ्यका मापदण्ड पालना, निषेधाज्ञा वा लकडाउनसम्म गर्ने अधिकार प्रजिअलाई छ ।

गृहका प्रवक्ता प्रदीप कोइरालाले जिल्लाको वस्तुस्थिति हेरेर संक्रमणविरुद्ध आवश्यक कदम चाल्न सम्बन्धित जिल्लास्थित संयन्त्रलाई जिम्मेवारी दिइएको बताए ।

‘कोरोना संक्रमणको ग्राफ बढ्दोक्रममा देखिएकाले सबै चनाखो रहनुपर्ने देखिन्छ,’ उनले भने, ‘सातै प्रदेशस्थित स्थल नाकामा निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएको छ ।’ सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माणको जिम्मा भने सेनालाई दिइएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक मङ्गलबार दिउँसो बस्ने भएको छ । कोभिड–१९ महामारीको नयाँ स्वरुप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका सम्बन्धमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागिएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएसीसी)ले सिफारिस गरेका विषयवस्तुमाथि छलफल हुने उहाँले बताउनुभयो ।