पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा मंगलबार बिहान सिंहदरबार मूलगेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।
कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारथ अर्पण गरेको थियो । माल्यार्पण गर्न राजनीतिक दलका नेता, मन्त्री र सर्वसाधारण पुगेका छन् ।
भण्डारीले शुभकामना सन्देशमार्फत मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन् । भण्डारीले पृथ्वीनारायणका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले वीर पुर्खाहरूको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा सबैको रहेको बताएकी थिइन् । उनको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित रहेको शुभकामना सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ, ‘देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहेको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित छ ।