अमेरिकामा सुँगुरको मुटु मानिसमा सफलपुर्बक प्रत्यारोपण

कृष्णराज खनाल । रासस

नर्थ क्यारोलिना (अमेरिका) पुस २७ गते । मासु खानका लागि विश्वभर सुँगुरको उपयोग त हुँदै आएको कुरा सबैलाई विदितै छ । अब त सुँगुरको मुटु खानको लागि मात्र होइन, मानवलाई सास फेर्नको लागि समेत उपयोग हुने भएको छ ।

मेरिल्याण्ड विश्वविद्यालय मेडिकल सेन्टरमा तीन दिन अघि गरिएको शल्यक्रियामा सुँगुरको मुटु मानवलाई प्रत्यारोपण गरिएपछि मुटुको पर्खाइमा वर्षौदेखि बसिरहेका मानिसहरु हर्षित भएका छन् । यसले अब हजारौँ मानिसहरु लाभान्वित हुने भएका छन् ।

हाल अमेरिकामा मात्र एक लाख मानिसहरु ठूलो शारीरिक कष्ट झेलेर मुटुको पत्यारोपणको पर्खाइमा बाँचिरहेका छन् । त्यसमध्ये प्रतिवर्ष छ हजार मानिसहरु कुनै व्यक्तिको मुटु दान नपाएर अकालमै मर्ने गरेका छन् भने तीन हजारले मात्र दानको मुटु पाएर जसोतसो प्रत्यारोपण गर्ने गरेका छन् । सुँगुरको मुटु मानवमाथि सफल प्रत्यारोपण गरिएको यो पहिलो पटक हो ।

मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभ वेनेट त्यस्ता भाग्यमानी र साहसी दुवै व्यक्ति हुन् जसको छातीभित्र अहिले तीन दिनदेखि सुँगुरको मुटुको धड्कन बजिरहेको छ । चिकित्सकहरुका अनुसार, उनी विना भेन्टिलेटरको सहायताले अहिले सास फेरिरहेका छन् । अमेरिकी समाचारहरुले यो पत्यारोपणलाई निकै महत्वका साथ प्रवाहित र प्रक्षेपण गरेका छन् । समाचारपत्रका अनुसार, डाक्टर वार्टली ग्रिफिथको नेतृत्वमा छ सात जना चिकित्सकले गत शुक्रवार यो शल्यक्रिया सम्पन्न गरेका थिए । पुरानो मुटु झिकेर नयाँ सुँगुरको मुटु हाल्नका लागि पूरा नौ घण्टा समय लागेको थियो ।

मानव शरीरमा प्रत्यारोपण गर्ने उद्धेश्यले उत्पादन गरिएको यो सृुँगर एक वर्ष उमेरको थियो भने यसको तौल दुइ सय ४० पौण्ड थियो । मानिस र सुँगुरको मुटु लगभग मिल्ने गरेको चिकित्सकहरुको भनाइ छ । यो वास्तवमा ऐतिहासिक उपलब्धि हो, अब कसैले पनि मुटु नपाएर मर्नु पर्दैन न्यूयोर्क विश्वविद्यालय, लंगुनका शल्यचिकित्सक रवर्ट मोन्टगोमेरीको भनाइ छ । उनै मोन्टेगोमेरीले गत सेप्टेम्वरमा सुँगुरको किड्नी मानवमा प्रत्यारोपण गरेका थिए, तर त्यो सफल भने भएन । यो घटनाले उता पशु अधिकारकर्मीहरुको टाउको दुखेको छ । उनीहरु सुँगुरको मुटु प्रत्यारोपण गर्न नहुने तर्क गरिरहेका छन् ।

बिरामी डेभ वेनेटका छोरा डेभिडका अनुसार, डेभ तीनवटा सिँढी उक्लन पनि सक्दैनथे । उनलाई मुटुमा ठूलो समस्या थियो । उनलाई बचाउन हरसंभव उपाय भयो, कतिपय उनले अस्वीकार पनि गरे तर अन्तमा सुँगुरको मुटु पाए । यो नै उनको लागि सर्वोत्तम अवसर हो, छोरा डेभिड भन्छन् । डेभिडका अनुसार, उनका बाबुले भनेका थिए, तिमीहरुले केही चिन्ता नगर, मलाई भगवानले हातको सहारा दिनेछन् । शल्यक्रियामा जानु अघि डेभले भनेका थिए जे सुकै परिणाम आओस् म अरु मानिसलाई मदत गर्न चाहन्छु । उनी आफ्नो शरीरमा अब केही समयपछि पुनः मानिसकै मुटु राख्न चाहन्छन् ।