माओवादी महासचिव पदमा पुन र शर्माबिच प्रतिस्पर्धा, सहमति गर्न प्रचन्डको जोड

काठमाडौँ — माओवादी केन्द्रको ८ औँ महाधिवेशनले छनोट गरेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाललाई अध्यक्षमा निर्विरोध चयन गरी निरन्तरता दिए पनि अन्य पदाधिकारीको टुंगो लगाउन सकेन । माओवादीमा अध्यक्षका अलावा वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने विधानको व्यवस्था छ ।

महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिको पुस १९ गते सोमबारको पहिलो बैठकले अध्यक्षबारे मात्रै निर्णय गरेर अन्य पदाधिकारी चयन लगायतका कामका लागि २५ गते केन्द्रीय समिति बैठक बस्ने तय भएको छ । उक्त बैठकमा केन्द्रीय समितिमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो चयनका एजेन्डा रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

केन्द्रीय समिति बैठक २५ गतेसम्म सार्नुको कारण भने अध्यक्ष दाहालले चीनमा स्वास्थ्य उपचार गराइरहेका महासचिवका दाबेदार वर्षमान पुनको आग्रह रहेको सोमबारको बैठकमै बताएका थिए । पुन र नेतृ ओनसरी घर्ती चीनमा रहेको र उनीहरूले पदाधिकारी चयनमा आफूहरू पनि सहभागी हुन चाहेको तथा चाँडै फर्किन लागेकाले बैठक सार्न आग्रह गरेको दाहालले केन्द्रीय समितिमा बताएका थिए ।

पुनले महासचिवमा दाबी गरेको र पदाधिकारी चयनमा सहभागी जनाउने इच्छा जाहेर गरेपछि केन्द्रीय समिति बैठक नै सारेर अध्यक्ष दाहालले आकांक्षीहरूबीच छलफल गराएर सहमति गराउन खोजेका नेताहरूले बताएका छन् । ‘अध्यक्षले अहिले नै कसलाई महासचिव बनाउने भन्ने कुरा राख्नुभएको छैन । दाबी गरिरहनुभएका नेताहरूमध्ये एकजना चीनमा हुनुहुन्छ । उहाँ आएपछि छलफल र परामर्श होला । त्यसपछि उहाँहरूलाई सँगै राखेर पनि छलफल गर्ने । एकले अर्कालाई महासचिवमा प्रस्ताव गर्ने स्थिति आयो भने पार्टीमा नयाँ एकता कायम हुन्छ भन्ने अध्यक्षको विश्वास छ,’ दाहाल निकट एक नेताले भने ।

महासचिवका दाबेदार पुन र शर्मा भने आफ्नो नाममा सहमति भए ठीक नभए चुनाव लड्न तयार रहेको उनीहरू निकट नेताहरूले बताएका छन् । पुन यसअघि नै सचिव भइसकेको र उनीभन्दा तल्लो पदमा रहेर शर्माले काम गरेकाले स्वाभाविक रूपमा महासचिवमा उनको दाबी रहेको उनीनिकट नेताहरूले बताउने गरेका छन् । संगठन विभागको प्रमुख भइसकेको र पार्टी कार्यदिशालाई सही रूपमा कार्यान्वयन गर्नका लागि शर्मा नै महासचिव बन्नुपर्ने दाबी उनी निकट नेताहरूले गर्दै आएका छन् ।

अध्यक्ष दाहालले कसलाई महासचिव बनाउँछन् भन्नेमा पनि दुवै खेमाले आफ्नो अनुकूल व्याख्या गरिरहेका छन् । पुन पक्षले केन्द्रीय समिति स्थगित गरी चीनबाट नेपाल आउने अवस्थासम्म कुर्न दाहाल तयार भएबाटै कुरा बुझ्नुपर्ने तर्क गरिरहेका छन् । अर्कोतिर शर्मा निकट नेताहरू भने दाबी गरेपछि छलफलका लागि कुर्नुलाई महासचिव नै बनाउन केन्द्रीय समिति सारेको रूपमा बुझ्न नहुने बताउँछन् ।

शर्माले महासचिवमा लड्ने यसअघि नै घोषणा गरिसकेका छन् भने पुनले पनि आफू निकट नेताहरूलाई चुनावमा जानुपर्ने अवस्था आए तयारी गर्न भनिसकेका छन् । ‘सहमति भयो भने ठीकै हुन्छ । सहमति नहुँदाखेरि चुनावको स्थितिमा जान्छ । स्वाभाविक रूपले संगठन विभाग प्रमुख पनि रहेको र पार्टी कार्यदिशा लागू गर्ने व्यक्ति भएकाले प्रभाकर महासचिव हुनुपर्छ भन्ने हो,’ शर्मा निकट एक केन्द्रीय सदस्यले भने । नेता शक्ति बस्नेतले ‘महासचिवमा आफ्नो नाममा सहमति होस् भन्ने नेताहरूले सोच्नु’ अन्यथा नभएको बताए ।

केन्द्रीय सदस्य कृष्णबहादुर महराले भने अध्यक्ष दाहालले महासचिव सहमतिका साथी चयन गर्नका लागि परामर्श गरिरहेको जानकारी दिए । ‘सहमतिको प्रयासमा अध्यक्ष लागिराख्नुभएको छ । महासचिवका लागि चुनाव नहुन सक्छ । योग्य उम्मेदवार धेरै हुनुहुन्छ,’ उनले भने ।

पुन र शर्माले दाबी नछोडेमा पूर्वस्थायी कमिटीका सदस्यहरूबीचको छलफलबाट निष्कर्ष निकाल्ने तयारी दाहाल रहेको नेताहरूले बताएका छन् । चुनावमा जानुभन्दा पनि पुन र शर्माको विकल्पमा सहमति हुन्छ कि भन्नेमा पनि दाहालको जोड रहने उनीनिकट नेताहरूले बताएका छन् । महासचिवका लागि पुन र शर्माको विकल्पका रूपमा देवप्रसाद गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेतलगायतलाई हेरिएको छ ।

महासचिवमा आफ्नो अहिले दाबी नरहेको तर पुन र शर्माको विकल्पमा आफू जिम्मेवारी लिन तयार रहेको गुरङले बताएका छन् । ‘मैले मागदाबी गरेको विषय छैन । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले उठ्छु भनेर लाग्नुभएको छ । अध्यक्षले चुनाव नलड्नुस्, सहमतिमा जाउँ बरु सिनियर साथीहरूलाई जिम्मेवारी दिएर जाउँ भनेको अवस्थामा मेरो सम्भावनाको प्रश्न आएको हो,’ उनले भने, ‘चुनाव हुने भयो भने उहाँहरू लड्नुहोला । चुनाव नहुने र सहमतिबाट गयो भने मेरो कुरा आउन सक्छ ।’ पुन र शर्मालाई उपमहासचिव बनाइ उनीहरूभन्दा सिनियर नेतालाई महासचिव बनाउने विकल्प रहेको पनि बताइएको छ ।