तीन महिना पछि वर्षमान पुन स्वदेश फर्कदै, महासचिव होलान् त ?

काठमाडौ । नेकपा माओवादी केन्द्रको महाधिवेशन चालु रहँदा चीनमा राजनीतिक भेटघाटमा ब्यस्त रहेका नेता वर्षमान पुन नेपाल फर्कन लागेका छन् । उपचारका लागि चीन पुगेका नेता पुनलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी चीनमै राजनीतिक भेटघाटमा ब्यस्त थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा उनले चीनमै राजनीतिक भेटघाट गरेका थिए ।

अस्पतालबाट डि स्चा र्ज भएका नेता पुन मंगलवार नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी दिएका छन् । दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डि स्चा र्ज भएर नेपाल आउन लागेको जानकारी गराएका हुन् । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उनी तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लागेका हुन् ।

पुन माओवादी केन्द्रको महासचिवको दाबेदार हुन् । हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनकै आग्रहमा पदाधिकारीको चयन प्रक्रियालाई पछाडि सारेको बताएका थिए । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ । अहिलेका अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल पनि महासचिवको आकाङ्क्षी हुन् ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकताअनुसार केन्द्रीय समितिले पदाधिकारीको सङ्ख्या थपघट गर्न सक्ने व्यवस्था पनि छ । अध्यक्षमा प्रचण्ड निर्वाचित भइसकेका छन् अन्य पदाधिकारी भने आउँदो २५ गते बस्ने केन्द्रीय समितिको दोस्रो बैठकबाट टुङ्गो लगाइने भएको छ ।