राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

पोखरा : राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा नेकपा एमालेका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । खुलाबाट कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरकी लीला थनेत र दलितमा स्याङ्जाका अर्जुनकुमार सुनामको उम्मेदवारी दर्ता भएको हो।

एमाले नेताहरुको टोलीसहित गएका उम्मेदवारले बिहान ११ बजे मनोनयन दर्ता गराएका हुन् । कांग्रेससहित सत्ता गठबन्धनका दलहरुका तर्फबाट महिलामा कांग्रेसकी कमला पन्त, दलिततर्फ माओवादीका भुवन सुनार र खुलामा माओवादीकै सुरेश आलेमगरको उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

माघ १२ गते हुने निर्वाचनका सत्तारुढ दल र प्रतिपक्ष दल एमाले उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको हो । यसअघि गण्डकीबाट निर्वाचित माओवादीका दिननाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एसकी शान्तिकुमारी अधिकारीको राष्ट्रिय सभाको सदस्यको पदावधि सकिँदैछ ।

राष्ट्रियसभा चुनावका लागि प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्। गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन् । एमाले २७, कांग्रेस १५, माओवादी १२, जसपा २, जनमोर्चा २ र स्वतन्त्र १ छन् ।