नेकपा एमालेले १९, नेकपा एसले ४ र नेपाली काङग्रेसले ६ प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवारहरु मनोनयन

काठमाडौं । प्रमुख राजनितिक पार्टीहरु नेकपा एमाले, नेकपा एस र नेपाली काङग्रेसले राष्ट्रिय सभा उम्मेदवारहरु मनोनयन गरेका छन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी माघ १२ गते हुुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशको उम्मेदवार टुंग्याएको छ । एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । यसैगरी, प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी, गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल, दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार तय गरेको हो ।

एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी र सुदूरपश्चिम प्रदेशमा खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलितबाट नरेश बिक आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु रहनुभएको छ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सातै प्रदेशको उम्मेदवार टुंग्याउने जिम्मा प्रदेशस्तरलाई नै दिइएको थियो । तत्पश्चात् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उम्मेदवारहरुको अन्तिम नाम टुंगो लगाएको हो ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि चार जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा शाह) लाई उम्मेदवार बनाउने निर्णय भएको हो ।माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

सत्तारुढ दल नेपाली काँग्रेसको सोमबार बसेको केन्द्रीय समितिको बैठकले आगामी माघ १२ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मनोनयन गर्ने निर्णय गरेको छ ।

काँग्रेसले सातमध्ये छ वटा प्रदेशमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा मनोनयन गर्ने भएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरु एक विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।