माओवादी केन्द्रीय समितिमा १२ दम्पती, त्यस्तै श्रीमान् एमाले श्रीमती माओवादी
काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा १२ दम्पती निर्वाचित भएका छन् । खुला र विभिन्न कलस्टरबाट उनीहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । हितमान शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । गणेशमान पुन खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
पूर्वमन्त्री वर्षमान पुन खुल्लातर्फबाट केन्द्रीय समिति सदस्य बनेका छन्ब भने ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् । कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएका छन्। केसी खुल्लाबाट केन्द्रीय सदस्य भने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
कृष्णध्वज खड्का र रेखा शर्मा पनि केन्द्रीय समिति सदस्य बनेका छन् । खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्य पहाडी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएका छन्।
देवेन्द्र पौडेल र बलावती शर्मा पनि केन्द्रीय समितिमा निर्वाचित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। देव गुरुङ केन्द्रीय समितिमा निर्वाचित हुँदा यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी हुन्
दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन् । नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएका छन् । पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् । देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय समितिमा अटाएका छन् । पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएका हुन् । यस्तै सूर्य सुवेदी र ज्ञानु बस्नेत दम्पती पनि केन्द्रीय सदस्य बनेका छन् ।
एक घरमा दुई पार्टीका केन्द्रीय सदस्य : श्रीमान् एमालेको, श्रीमती माओवादीको
काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रहेका दावा तामाङकी श्रीमती कुमारी मोक्तान नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चयन भएकी छन् । बागमती प्रदेशमा सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तान माओवादीले आइतबार घोषणा गरेको केन्द्रीय कमिटीमा चयन भएकी हुन् । आदिवासी जनजातितर्फबाट उनी केन्द्रीय सदस्य भएकी हुन् । उनी माओवादीका मकवानपुर इन्चार्ज पनि हुन् ।
१० वर्षे जनयुद्ध लडेका सिन्धुपाल्चोकका तामाङ सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि एमालेमा गएका हुन् । त्यसअघि उनी माओवादी केन्द्रमा थिए । पहिलो संविधान सभा निर्वाचन जितेका तामाङ २०७४ सालमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । तामाङ माओवादीमा रामबहादुर थापा समूहका थिए ।