मछिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का

मछिन्द्र क्लबले (एशियाली फुटबल महासंघ) एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको सातौं चरणमा आइतबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र एएफसी कप छनोटका लागि छानिएको हो ।

पहिलो हाफको २१ औँ मिनेटमा सुनिल बलले गरेको गोल नै मछिन्द्रका लागि एएफसी कप छनोटमा पुग्न निर्णायक बन्यो। सुनिलले विशाल राईको फ्रि कीकमा ओपन हेडर गोल गर्दै बललाई पोष्टको जाली चुमाएका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पुलिसविरुद्ध मछिन्द्रले बाजी मारेको हो ।

दुई वर्षअघि लिग च्याम्पियन भएर पनि मछिन्द्रले एएफसी कप छनोट खेल्न पाएको थिएन। एएफसी क्लब लाइसेन्स नलिएका कारण मछिन्द्रले त्यति बेला लिग च्याम्पियन भएर पनि एएफसी छनोट खेल्न नपाएको हो । मछिन्द्रको सट्टा त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप छनोट खेलेको थियो। आर्मीले दुई वर्षअघि क्लब लाइसेन्स लिएको थियो। गत वर्ष मनाङ मर्स्याङ्दी, मछिन्द्र र एपीएफ फुटबल क्लबले पनि लाइसेन्स प्राप्त गरेका थिए ।

लाइसेन्स नभएका क्लबले एएफसीको आधिकारिक प्रतियोगिता खेल्न पाउँदैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसीलाई आग्रह गर्दै सातौँ चरणको समाप्तिमा लाइसेन्स लिएका मध्ये शीर्ष स्थानमा रहने टोलीको नाम दर्ता गर्ने भनेको थियो । त्यही आग्रह अनुसार सातौँ चरणको शीर्ष टोली भएको नाताले ए डिभिजन क्लब मछिन्द्रले अब एएफसी कप छनोटमा देशको प्रतिनिधित्व गर्नेछ ।

पहिलो चरणमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले हराउँदै मछिन्द्रले जारी विजयी सुरुवात गरेको थियो। दोस्रो चरणमा आर्मीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको मछिन्द्रले तेस्रो चरणमा जावलाखेल युथ क्लबलाई २-०, हिमालयन शेर्पा क्लबलाई ३-० ले पराजित गरेको थियो ।

पाँचौँ चरणमा संकटा क्लबसँग गोलरहित बराबरी खेलेको मछिन्द्रले छैटौँ चरणमा मनाङलाई १-० ले पराजित गर्दै एएफसी कप छनोटको सम्भावना बलियो बनाएको थियो । सातौँ चरणसम्म आइपुग्दा मछिन्द्र क्लबले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। लिगको सुरुवातबाट नै मछिन्द्र, मनाङ र आर्मीले एएफसी कप छनोटका लागि दाबेदारी प्रस्तुत गरेपनि अन्तिममा मछिन्द्रले बाजी मार्न सफल रह्यो।

मनाङ अंक तालिकामा एक अंक मात्रै पछि रहेर छनोट खेल्ने मौका गुमायो । लिग चरणमा मछिन्द्रसँग पराजित हुनु नै मनाङको दुर्भाग्य बन्यो। त्यसअघि लिग चरणको तेस्रो खेलमा संकटा क्लबसँग २-२ गोलको बराबरीमा रोकिनु पनि छनोटको सम्भावनाका लागि अर्को बाधक रह्यो ।