४२ जना उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)
संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले ४२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । आइतबार अपरान्ह ४२ जना उपसचिवको सरुवा तथा पदस्थापनको निर्णय भएको मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए । ती अधिकारीका अनुसार हालै परीक्षा उत्तीर्ण भएपछि मन्त्रालयको अतिरिक्तमा रहेका २५ जना उपसचिव लगायत केही मन्त्रालय, आयोग तथा सरकारी कार्यालयमा रहेका प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) को पदस्थापन तथा सरुवा गरिएको हो । सचिवस्तरीय निर्णयका आधारमा उपसचिव सरुवा तथा पदस्थापन भएको हो ।
विकास बजेट खर्च गर्न हुन नसकेर आलोचना खेपिरहेका बेला संघीय मामिला मन्त्रालयले उपसचिवको सरुवा गरेको हो । मन्त्रालयका एक उच्च अधिकारीले उपसचिवको सरुवाले विकास बजेट खर्च गर्ने काममा थप ढिलासुस्ती आउने बताए । उपसचिवको सरुवा तथा पदस्थापनको सूची मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उपसचिवहरूलाई संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा सरुवा तथा पदस्थापन गरिएको छ । सामान्य प्रशाशन मन्त्रालयका अनुसार भूमि व्यवस्था मन्त्रालयका उपसचिव राजेश उप्रेतीको संस्कृति मन्त्रालयमा सरुवा भएको छ ।
जयबहादुर खड्का राष्ट्रिय दलित आयोगबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेकी सङ्गीता ओझाको भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएको छ । अर्का उपसचिव वसन्त पौडेल राष्ट्रिय निजामती किताबखानाबाट शिक्षा मन्त्रालयमा सरुवा भएका छन् । त्यसैगरी उपसचिव नरहरि घिमिरेको संस्कृति मन्त्रालयबाट बाँसगढी नगरपालिका, बर्दियामा सरुवा भएको मन्त्रालयले जनाएको छ ।
को कहाँ पुगे?
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका भुवनेश्वर लामिछानेलाई बूढानीलकण्ठ नगरपालिकामा पदस्थापन गरिएको छ । त्यसैगरी उपसचिव राजेन्द्र कार्कीको बूढानीलकण्ठ नगरपालिकाबाट जिल्ला समन्वय समिति काठमाडौंमा सरुवा भएको छ । चाँगुनारायण नगरपालिकामा रहेका अग्नि अधिकारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानिएको छ । उपसचिव शंकरराज पाठक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट टोखा नगरपालिकामा सरुवा भएका छन् । टोखा नगरपालिकामा रहेका प्रकाश आचार्यको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ ।
ममता बाँस्तोलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, कृष्ण गिरीलाई भक्तपुर नगरपालिका, मानबहादुर गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत र मोहन अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको मन्त्रालयको कर्मचारी सरुवा महाशाखाले जनाएको छ । उता लेखनाथ न्यौपानेलाई शंखरापुरबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा सरुवा गरिएको छ । रमेश गौतमलाई लुम्बिनी प्रदेश सभा सचिवालयबाट शंखरापुर नगरपालिका, काठमाडौंमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
उपसचिव रामप्रसाद आचार्यको गोकर्णेश्वर नगरपालिकाबाट जिल्ला समन्वय समिति कार्यालय रसुवामा सरुवा भएको छ । त्यस्तै बैकुण्ठप्रसाद सापकोटा मध्य नेपाल नगरपालिकाबाट काठमाडौको गोकर्णेश्वर नगरपालिकामा सरुवा भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका भोजराज घिमिरेको नागेश्वरी मनहरा नगरपालिकामा सरुवा भएको छ । हरिप्रसाद चापागाईँलाई सामान्य प्रशासन मन्त्रालयबाट चाँगुनारायण नगरपालिकामा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
उपसचिव गिरीराज ज्ञवालीलाई काठमाडौकै कागेश्वरी मनहरा नगरपालिकाबाट श्रम मन्त्रालयमा सरुवा गरिएको छ। अर्का उपसचिव महेश कुमार गुरुङको प्युठान नगरपालिकामा सरुवा भएको छ । त्यस्तै सन्ध्या सिग्देललाई संघीय भूमि मन्त्रालय, रामकृष्ण श्रेष्ठलाई झापाको शिवसताक्षी नगरपालिका, राम चन्द अर्याललाई गृह मन्त्रालय, अच्युत ढुङ्गानालाई सञ्चार मन्त्रालय वा अन्तर्गत, चण्डीका पौडेलको टीकापुर नगरपालिका कैलाली र सुरज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका धम्मनसिंह गौतमलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, दिनेश प्रसाद थानीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा सो मन्त्रालय अन्तर्गत पदस्थापन गरिएको छ ।
उपसचिव राजेश गुरुङलाई कावासोती नगरपालिका नवलपरासी(बर्दघाट सुस्ता पूर्व), मिलन भट्टराईलाई सूर्योदय नगरपालिका इलाम, मंगलबहादुर शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश, गोकर्णराज सुयललाई राईनाम नगरपालिका लमजुङ र झविन्द्र खनाललाई शितगंगा नगरपालिका अर्घाखाँचीमा पदस्थापन गरिएको छ।
अर्का उपसचिव राकेश पाण्डेलाई रामग्राम नगरपालिका, नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम), अर्जुन पौडेललाई गृह मन्त्रालय, सम्झना देवकोटालाई सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा, विशाल सापकोटालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नमिता रेग्मीलाई धुनीबेंसी नगरपालिका धादिङ र वसन्तबहादुर बोहोरालाई सामान्य प्रशासन मन्त्रालयमै राखिएको छ ।