इच्छाराज तामाङसहित दुई जना पूर्पक्षका लागि जेल चलान
काठमाडौँ – सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे छ । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महताेले बताए ।
उनका अनुसार उक्त समूहका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएका छन् । लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो। पक्राउ परेका मध्ये ९ जना धरौटीमा र १ जना साधारण तरेखमा रिहा भएका छन् ।
अदालतले प्रतिवादी हरिहर लामिछानेसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। यस्तै, विजयविक्रम शाहीसँग १५ लाख, भगवान डंगोलसँग १० लाख धरौटी माग गरेको छ। यस्तै, प्रतिवादीहरु बुद्धराज तामाङसँग ५ लाख, कस्तुभ केतन ढुंगानासँग ५ लाख, एलिना तुलाधरसँग ५ लाख र मायानानी महर्जनसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएकाे छ ।
त्यसैगरी अदालतले शेखरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालतमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको हो।
अदालतमा दर्ता भएको अभियोग पत्रमा तामाङविरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ। तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत अभियोगपत्रमा माग गरिएको छ। ब्यूरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। अन्य ३० जना फरार रहेको प्रहरीले जनाएकाे छ ।