विवाह गर्दै अभिनेत्री रेखा थापा, भन्छिन् : तामझाम नगर्ने
अभिनेत्री रेखा थापाले आउँदो वर्ष आफ्नो विवाह हुने सम्भावना रहेको बताएकी छिन् । एक टेलिभिजन अन्तवार्ताका क्रममा अभिनेत्री थापाले २०७९ सालभित्र आफू विवाह बन्धनमा बाँधिने बताएकी हुन् ।
आगामी वर्ष विवाहको योजना बनाएकी रेखाले केटा भने खोजिरहेको बताएकी छिन् । उनले आफ्नो लभ र एरेन्ज जे पनि हुन सक्ने उल्लेख गरेकी छिन् । रेखाले आफूले आफ्नो हुनेवाला श्रीमान आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने चाहाना राखेकी छन् । घरजम गर्ने सुरमा रहेकी रेखाले तामझामका साथ विवाह नगर्ने बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘म यो देशको साधारण मानिस हुँ। मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा–बुवालाई यस्तै बिहे गर्दिनु पर्छ भनेर दुःख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन ।’ निर्माता छविराज ओझासँगको पारपाचुकेपछि रेखा एक्लै बस्दै आएकी छिन् । रेखाले आफूले कलाकारिता बाहिरको मानिससँग घरजम गर्ने बताएकी छिन् ।