थन्कियो एक करोड बढी खोप, तत्काल थप खोप नल्याइने

बालबालिकालाई स्कुलमै र अन्य समूहलाई घर घरमै खोप लगाउने रणनीति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड बढी कोरोनाविरूद्धको खोप थन्किएर बसेपछि तत्काल थप खोप नल्याउने रणनीति बनाएको छ ।मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार भएका खोप सकिएपछि मात्र थप खोप आयात गर्ने मन्त्रालयको योजना रहेको छ । ‘हामीसँग स्टोरमा भएका खोपहरू चाँडै नै सक्ने गरी योजना बनाएका छौं। अब थप खोप तत्काल नल्याउने रणनीति छ,’ उनले सेतोपाटीसँग भने । उनले आउनुपर्ने धेरै खोपहरू आइसकेको भन्दै अब सन् २०२२ फेब्रुअरीपछिको खोपहरू मात्र पाइपलाइनमा रहेको बताए ।यसबीचमा तत्काल अरू खोप नआउने भन्दै यो डेढ महिनाभित्र खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको उनले बताए ।

अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको ‘सेन्ट्रल भ्याक्सिन स्टोर’ मा मात्र झण्डै ७८ लाख खोप थन्किएर बसेको छ । अब तत्काल थप खोपहरू आए भण्डारण गर्ने क्षमता नरहेको खोप शाखाका प्रमुख डाक्टर सागर दाहाल बताउँछन्। उनले भने, ‘अब कसरी राख्ने? स्टोरको क्षमताले पुग्दैन। त्यसैले अब अरू खोप लिँदैनौ। खपत भएपछि मात्र लिन्छौं ।’

विभागका अनुसार अहिले एक करोड १८ लाख खोप ‘सेन्ट्रल भ्याक्सिन स्टोर’ र प्रदेशस्तर ‘भ्याक्सिन स्टोर’ हरूमा थन्किएर बसेको छ। तर मन्त्रालयले योजना अनुसार खोप अभियानलाई थप बढाउन सके अहिले भएका खोपलाई डेढ महिनाभित्र लगाइसक्न सम्भव छ । किनकि, अहिले दैनिक लगभग २ लाख ५० हजार जना मानिसमा खोप लगाइराखिएको छ । यहीँ हिसाबले निरन्तर खोप लगाउन सके दुई महिनाभित्र अहिले थन्किएको खोप लगाइसक्ने देखिन्छ । मन्त्रालयका सह-प्रवक्ता अधिकारीले पनि खोप अभियानलाई थप बढाइने भन्दै अबको रणनीति ‘डोर टू डोर’ पुगेर मानिसहरूलाई खोप लगाउने रहेको जनाए ।

‘अहिले बालबालिकालाई खोप लगाउने काम भइरहेको छ । अब त्यो सकेर ‘डोर टू डोर’ रणनीति अनुसार अर्को उमेर समूहलाई खोप लगाउँछौं । त्यो भनेको घरघरै पुगेर खोप लगाउने होइन । तर घरको नजिक पहुँच हुने ठाउँसम्म केन्द्रले खोप पुर्‍याउने हो । त्यसरी अबको डेढ महिनामा भएका खोप लगाइसक्छौं,’ उनले भने ।

अहिले मन्त्रालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइरहेको छ । अधिकारीका अनुसार बालबालिकाको ठूलो समूहलाई समेट्न सुरूमा बालबालिकाको धेरै संख्या रहेका २० वटा जिल्लामा यो अभियान सुरु गरेको छ । उनले अहिले बालबालिकामा खोप केन्द्रित गरेका कारण अरू मानिसहरू झुक्किने भएकाले अब विद्यालयमै खोप लगाउने गरी काम अगाडि बढेको बताए ।

‘पछिल्लो समय बालबालिका केन्द्रित गरेकाले अरू झुक्किनुहुन्छ भनेर बालबालिकाको विद्यालयमा खोप लगाउने गरी काम गरिरहेका छौं। त्यो पहिले २० वटा जिल्लाबाट सुरू गर्न लागेका छौं । त्यसले पनि अलिकति घटाउँछ,’ अधिकारीले भने, ‘त्यसपछि भने ‘डोर टू डोर’ रणनीति अनुसार अरू उमेर समूहका मानिसलाई लगाउँछौं ।’ साथै खोप भण्डारमा समस्या हुन थालेपछि जिल्लालाई पनि सक्दो लक्षित समयभित्र खोप लगाइसक्न निर्देशन दिइएको अधिकारीले बताए ।

उनले केही जिल्लाहरूले समयभित्र खोप लगाइसक्ने र केन्द्रमा त्यसको जानकारी गराउन गरे पनि धेरै जिल्लाले लक्षित समय भित्र खोप नलाइसक्दा समस्या देखिएको जनाए । उनले जिल्लाले खोप खपत गरेर त्यसको तथ्यांक केन्द्रमा पठाएपछि मात्र थप खोपहरू पठाउने गरिएको भन्दै अब जिल्लालाई पनि खोप लगाउने कार्यलाई तीब्रता दिन निर्देशन दिइएको बताए ।