पुनम गुरुङको संयोजकतामा नेपाली नयाँ बर्षमा ‘नेपाल रन’ दौड आयोजना गरिने
बेजिङ्स्टोक् । एनआरएनए यूकेको निबर्तमान अध्यक्ष महिला नेत्री पुनम गुरुङको संयोजकतामा नेपाली नयाँ बर्ष २०७९ सालको शुभ अबसरमा आगामी अप्रिल १७ तारिख २०२२ साल आइतबार यूकेमा नेपालीहरुको घना बस्ती रहेको अर्को क्षेत्र बेजिङस्टोकमा “नेपाल रन” दौड आयोजना गरिने भएको छ । पोखरा अन्तरराष्ट्रिय म्याराथनको प्रबर्ध्दक तथा प्रमुख साझेदारी संस्था पोखरेली मंच यूकेले उक्त दौड आयोजना गर्न लागेको हो ।
प्रबिधीको बढ्दो प्रयोगसंगै शारीरिक तन्दुरुस्ती कम (निस्कृया जीवनशैली) भइरहेको परिप्रेक्ष्यमा यस किसीमको दौड आयोजना गरेर केही मात्रामा भएनि प्रत्सोहन दिने उध्देश्यले उक्त दौड आयोजना गर्न लागेको कुरा पोखरेली मंच यूकेको अध्यक्ष मान प्रसाद गुरुङले जानकारी गराउनुभयो । शारीरिक तन्दुरुस्ती मुख्य उध्देश्य त हो तर त्यससंगै नेपाली संस्क्रिती र परम्परालाई नयाँ पुस्तालाई चिनाउने र हस्तन्तरण गर्दै लैजाने कार्यक्रमको अर्को प्रमुख लक्ष्य रहेको छ । त्यस्तै कार्यक्रमबाट समुदायमा शारीरिक तंदुरुस्तीबारे चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक एवं धरान रन तथा नेवा च्यारिटीका संस्थापक समेत रहेका सन्तोष राईले बताए ।
यूकेमा पहिलो पटक आयोजना गरिने उक्त दौड स्थानीय बेजिङ्स्टकमा आयोजना गरिनेछ र कार्यक्रमलाई सफल बनाउन स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र बेजिङ्गस्टक तमु समाजका सम्योजक दुर्गा गुरुङले स्थानीय समुदायले सहयोग गर्ने भएका छन् । दौड कार्यक्रमको सह संयोजक मिस नेपाल युके टेनिसा रानालाई जिम्मेवारी दिएको छ भने कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ ।
गत आइतबार सम्पन्न भेलाको संचालन पोखरेली मंचका उपाध्यक्ष करम गुरुङले संचालन गरेको कार्यकममा पोखरेली मंच र नेपाल रनका पदाधिकारीहरु साथै बेजिङ्गस्टकका स्थानीय समाजसेवीहरु प्रेम गुरुङ्ग, बल थापा, नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पति रेग्मी, पाण्डव महतो, उदेश देवान, जगन कार्की, सुर्य गुरुङ, राम गुरुङ लगायतको उपस्थिति रहेको मञ्चका अध्यक्ष मान प्रसाद गुरुङले जनाएका छन् ।
हालै पोखरेली मञ्चको पहलमा भएको एक भेलाका सहभागीहरुले कोरोना महामारी र विभिन्न स्वास्थ्य संकट बढीरहेको बेला समुदायलाई रोग र शारीरिक समस्याबाट बच्न र सचेत रहन सहयोग गर्ने कार्यक्रम अत्यन्त सराहनीय रहेको भन्दै उपस्थित सबैले सकेको सहयोग गर्ने जनाएका थिए ।
कार्यक्रम मार्फत जुटेको सहयोग राशीले नेपालको सुन्दर नगरी पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तरराष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने छ ।