किर्तिमानी धावक ले.रि.कुशाङ गुरुङ सहारा युकेको अध्यक्षमा सर्वसम्मत निर्वाचित

सहारा यूकेको १३औ साधरण सभा तथा छैटौ अधिवेशनले निबर्तमान उपाध्यक्ष ले.रि.कुशाङ गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । आज शनिबार अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न छैटौ अधिवेशनले कुशाङलाई अध्यक्ष पदमा निर्बाचित गरेको हो । साथै सोही महाधिबेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा कृष्ण गुरुङ र महासचिवमा मनोज गुरुङलाई निर्वाचित गरेको छ भने नेपाल प्रहरीका पूर्व डिएसपी समेत रहेका वाचस्पती रेग्मीले सचिव पदमा निरन्तरता दिएको छ । त्यसै गरी सम्पन्न अधिवेशनले कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ, सहारा एफसी चेयरमेनमा सारदा गुरुङ, सहारा एफसीको सिइओमा क्या.रि.पिताम्वर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र यूवा खेलकुद संयोजकमा सन्दिप उपाध्यायलाई सर्व सम्मत निर्वाचित गरेको छ ।

यसैगरी सातौ कार्यसमिति सदस्यहरुमा- मिलन गुरुङ (फोटो पत्रकार), पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, सम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ सर्वसम्मत चयन भएको सहारा यूकेले जनाएको छ ।

आजको १३ औं साधारण सभा छैटौ अधिवेशनको उद्घाटन अध्यक्ष कुमार गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा सहारा यूकेका संस्थापक सल्लाहाकार तथा सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ र पूर्व अध्यक्ष मिन बहादुर गुरुङले शुभकामना व्यक्त गर्दै आगामी दिनमा सहारा युकेले खेल्नु पर्ने विभिन्न विषयमा आफ्ना भनाई राखेका थिए ।

अधिवेशनमा अध्यक्ष कुमार गुरुङले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, सचिव वाचस्पती रेग्मीले प्रस्तुत गरेको सचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सारदा गुरुङ द्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन, सहारा एफसीका चेयरमेन कृष्ण गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा विधान संसोधन समितीद्वारा प्रस्तुत विधान संसोधन प्रस्तावलाई सर्व सम्मतरुपमा पारित गरेको छ ।

कार्यक्रममा पूर्व अध्यक्षहरु र प्रमूख सल्लाहकार महेश गुरुङसहित अन्य थुप्रै सदस्यहरु उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अधक्ष्यता निबर्तमान अध्यक्ष कुमार गुरुङले गर्नुभएको थियो । सो अवसरमा सहारा युकेका निबर्तमान अध्यक्ष कुमार गुरुङले सम्वोधन गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्नुभएको थियो ।

अक्टोबर २००८ सालमा नवीन गुरुङको अध्यक्षतामा पोखराको सहारा क्लबलाई सहयोग गर्ने उदेश्यले सहारा क्लब युके गठन भएको थियो र आज चुनेको कार्यसमिति सातौ कार्यसमिति हो । संस्थापक अध्यक्ष गुरुङले २०१४ सम्म दुई–दुई वर्षका तीन कार्यकाल क्लबलाई नेतृत्व प्रदान गरे भने २०१४ देखि २०१६ सम्म दीलिप दाई, तथा २०१६ देखि शनिबारसम्म मीन बहादुर गुरुङ (साइला), २०१८ देखि आजसम्म कुमार गुरुङले अध्यक्षका रुपमा क्लबको नेतृत्व सम्हालेका थिए ।

सहारा क्लब यूकेले २०१९ सालमा नेपाली फूटबल टिम र इङल्याण्ड टिम सिबिच यूकेमा मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना थियो तर कोभिड १९ को कारण उक्त खेल रध्द गर्नुपरेको थियो । सहारा क्लवद्धारा संचालन गरिएको पोखरा स्थित सहारा एकेडेमीमा हाल २४ जना असहाय तथा विपन्न बर्गका बालकहरु रहेका छन् । क्लवले हरेक बर्ष आयोजना गर्दै आएको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिता यस बर्ष माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा संचालन गर्ने तयारी सुरु गरेको छ ।

को हुन नव निर्वाचित अध्यक्ष ले.रि.कुशाङ ?

सहारा युकेको नवनिर्वाचित अध्यक्ष ले.रि.कुशाङ गुरुङ किर्तिमानधारी धावक हुन् । पर्वतको ठानामौलामा दिल बहादुर गुरुङ र माता धनसिरी गुरुङको कोखमा पहिलो सन्तानको रुपमा जन्मिएका उनी भद्र, शालीन व्यक्तित्वका रुपमा परिचित छन् । उनी विश्वकै एकदमै कठिन मानिएको मलेशियाको कोटाकिनाबालु दौड प्रतियोगितामा सन १९९१ देखि १९९३ सम्म तीन पटक लगातार जितेर किर्तीमान बनाउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ज छन् । उनको रेकर्ड अहिले सम्म कसैले तोडन सकेको छैन ।

सन १९८३ मा बेलायती सैनिक सेवामा भर्ना भएका उनी बृटिश फोर्सेस हंगकंग क्रस कन्ट्री बिजेता (१० पटक भन्दा बढी), बृटिश फोर्सेस खुद रेस बिजेता, ब्रिटिश आर्मी क्रस कन्ट्री समुह स्वर्ण पदक, बृटिश आर्मी एथ्लेटिक्स समुह स्वर्ण पदक, फोर पिक रेस हंगकंग किर्तिमानी समय सहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेष्ट म्याराथन रजत पदक जितेका छन् भने यस बाहेक १२ वटा म्यारथन दौड तथा २३ वटा हाफ म्याराथन पुरा गरेका छन् ।

किर्तिमानधारी धावक तथा समाजसेवी गुरुङ करिव एक दर्जन संघ–संस्थामा रहेर खेलकुद र सामाजिक अभियानमा बेलायतमा नै रहेर सक्रिय छन् भने तमु धिं सहित विभिन्न सामाजिक तथा खेलकुदका संस्थामा सल्लाहकारको भूमिका छन् । बिशेषगरी लामो दौड र गल्फ खेल्न मन पराउने गुरुङ आफ्नो धर्मपत्नी पन्च कुमारी गुरुङ, छोरा कुन्जन र छोरी प्रिप्ती सहित हाल युकेको क्याम्बर्लीमा बस्दै आएका छन् । उनी यस अघि सहारा युकेको उपाध्यक्ष रहेका थिए ।

सहारा युकेको १३ औं साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न गर्न सहारा युकेका संस्थापक सल्लाहकार तथा सहारा क्लवका मानार्थ सदस्य महेश गुरुङको संयोजकत्वमा समिती गठन गरेको थियो । जसको सदस्यमा सहारा युकेका सल्लाहकार तथा सहारा क्लवका मानार्थ सदस्य लोक गुरुङ र सहारा युकेका सल्लाहकार तथा पूर्व एफसी चेयरमेन हरि कुमार श्रेष्ठ रहेका थिए ।

अध्यक्षमा चयन हुनुभएपछि ले.रि.कुशाङ गुरुङले पूर्व अध्यक्षहरुले गर्नुभएको काममा अझ ईट्टा थपेर थप उचाइमा पुरयाउने र सहारा यूकेको शीर झुक्ने गरेर कहिल्यै पनि आफु र आफ्नो कार्यसमितिले काम नगरने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

सहारा युके अवार्ड २०२१ धनु पुरन थकालीलाई

सहारा युकेले हरेक वर्ष प्रदान गर्दै आएको सहारा युके अवार्ड यो वर्ष मरणोपरान्त धनु पुरन थकालीलाई प्रदान गरिएको छ । सहारा युकेको महासचिव पदमा कार्यरत रहेकै वेला उनको यहि वर्ष गत असोज २१ गते उपचारको क्रममा ५२ वर्षको उमेरमा बेलायतमा निधन भएको थियो । उनले सहारा युकेको हरेक गतिविधी तथा कार्यक्रमहरुलाई सफल बनाउन उल्लेखनिय भुमिका खेलेका थिए ।

सहारा युकेद्वारा सन २०१९–२०२१ का लागि पूर्व अध्यक्ष दिलिप गुरुङ ‘एमविइ’को संयोजकत्वमा गठित अवार्ड कमिटीले उनलाई मरणोपरान्त सहारा युके अवार्ड २०२१ बाट सम्मान गर्ने निर्णय गरेको थियो । उक्त कमिटीमा सहारा युकेका अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष ले.रि.कुशाङ गुरुङ, सचिव बाचस्पती रेग्मी, संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्व अध्यक्ष मिन गुरुङ र संस्थापक सल्लाहकार महेश गुरुङ रहेका थिए ।

सहारा युकेले आफ्नो कार्यसमिती भित्र रहेर उल्लेखनिय योगदान गर्ने सदस्यहरुलाई हरेक वर्ष सहारा युके अवार्ड र सहारा युके स्पेसियल अवार्डबाट सम्मानित गर्दै आइरहेको छ । अहिले सम्म सहारा युके अवार्डबाट १२ जना तथा सहारा युके स्पेसियल अवार्डबाट ६ जना सम्मानित भएका छन् । सहारा युकेका संस्थापक नविन गुरुङलाई भने लामो समय अध्यक्षको पदमा रहेर भूमिका खेलेको भन्दै सन २०१४ मा ‘लङ्ग स्टान्डिङ प्रेसिडेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।