‘मिस वर्ल्ड’को ग्रान्ड फिनाले अन्तिम समयमा स्थगित, सुन्दरीहरु देश फर्किँदै

एजेन्सी । सन् २०२१ को ‘मिस वर्ल्ड’ को शुक्रबार हुन लागेको उपाधि छिनोफानो कार्यक्रममा अन्तिम समयमा स्थगित भएको छ । विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनालेको सबै तयारी भइसकेको अवस्थाम स्थगित भएको हो ।

यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको सेन जुआनमा हुने तय थियो । तर आयोजक, कर्मचारी र कयौँ प्रतिस्पर्धी सुन्दरीहरुलाई समेत कोरोना भाइरस देखिएपछि यसको फाइलन कार्यक्रम रोकिएको हो । प्रतियोगितामा सहभागी १७ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यहीकारण ‘मिस वर्ल्ड २०२१’को ग्रान्ड फिनाले अन्तिम समयमा तत्काललाई स्थगित भएको हो ।

मिस वर्ल्ड आयोजकले विज्ञप्ति निकालेर सबैजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीको सल्लाहमा कार्यक्रम स्थगित गरिएको जनाएको छ । आयोजनास्थल पुएर्तो रिकोमा कोरोना संकट कम भएमा अबको ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ । पुर्तो रिकोका स्वास्थ्य अधिकारीहरुले सुन्दरीहरुमा पनि कोरोना संक्रमणको पुष्टि गरेका छन् । उनीहरुका अनुसार प्रतियोगितामा सहभागी १७ जनामा कोरोना पोजेटिभ देखिएको छ। आयोजकले सातजनालाई आइसोलेट गरिसकेका छन् ।

पुर्तो रिकोका स्वास्थ्य विभाग प्रवक्ता लिसडियन एसीभीडोले संक्रमितको संख्या बढ्दै गएको बताएका छन् । उनका अनुसार सबै संक्रमितलाई कोभिडविरुद्धको खोप लगाइएको छ । ‘मिस वर्ल्ड’की अध्यक्ष जुलिया मार्लेले कोरोनाकै कारण कोही प्रतियोगी प्रतियोगितामा सहभागी हुन नसके पनि उनीहरु ताज जित्न योग्य हुने बताएकी थिइन्। तर अब प्रतियोगिता नै तत्काललाई स्थगित भएको हो ।

अब मिस वर्ल्डमा सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेरे उनीहरुलाई घर फर्काउने तयारी छ । नेपालबाट प्रतिनिधित्व गरेकी नम्रता श्रेष्ठ शीर्ष १० मा पुगेकी थिइन् ।