कांग्रेस सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । १४औँ महाधिवेशनले नयाँ कार्यसमितिको केन्द्रीय सभापतिमा देउवालाई निर्वाचित गरेको हो । प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै देउवा नयाँ कार्यकालका लागि सभापतिमा निर्वाचित भए ।

देउवाले २७३३ मत प्राप्त गरे भने शेखरको पक्षमा १८५५ मत खसेको निर्वाचन समितिले जनाएको छ । ३५ मत बदर भएकाे छ । देउवा जिवयी भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

मंगलबार अबेर राति सम्पन्न मतदानमा ४६२३ मत खसेको थियो ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको थियो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।

सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।