ओमिक्रोन भेरियन्टका कारण बेलायत सरकार दबाबमा

नयाँ कोरोना भाइरस- ओमिक्रोन भेरियन्टको कारण संक्रमण बढेपछि बेलायत सरकार दबाबमा परेको छ । बुस्टर डोज खोपको माग अत्यधिक हुँदा नेसनल हेल्थ सर्भिसको वेबसाइट क्र्यास हुनुका साथै परीक्षण किटको समेत अभाव भएको छ । खोप केन्द्रहरुमा लामो लाइन देखिएको छ ।

बेलायतमा डेल्टा भेरियन्टलाई उछिनेर ओमिक्रोन हाबी हुने चेतावनी विज्ञहरुले दिएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले भाइरस रोकथामका लागि नयाँ उपाय र योजनाहरु घोषणा गरेका छन् तर, उनलाई आफ्नै पार्टीका सांसदहरुको साथ दिएको छैन । त्यसैले उनी दबाबमा छन् ।

यसअघि जोन्सनले जुलाईमा रोकथामका सबै उपाय हटाएका थिए । गत वर्षको हिउँदमा बेलायतीहरुले कडा प्रतिबन्धका माझ चाडबाड मनाएका थिए । तर, त्यही बेला प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नै पार्टी गरेको खुलासा भएको छ । जसका कारण सरकार विवादमा परेको छ ।

बेलायतले डिसेम्बरको अन्त्यसम्ममा सबै वयष्कलाई बुस्टर डोज लगाइसक्ने बताउँदै आएको छ ।

ओमिक्रोन भाईरसको कारण बेलायतमा एक जनाको मृत्‍यु भईसकेको छ । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा पहिलोपटक एक जनाको मृत्यु भएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा पहिलोपटक ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो । प्रधानमन्त्री जोन्सनले ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएकाले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।

त्यस्तै बेलायतमा ओमिक्रोन सन्क्रमितहरु सन्ख्या दिनदिनै बढदै गएको छ । आज मंगलबार एकैदिन झन्डै ६० हजार संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५९ हजार ६१० संक्रमित फेला परेका छन् । यसैसंगै बेलायतमा हालसम्म कोरोनाका संक्रमितको संख्या एक करोड ९ लाख ३२ हजार ५४५ पुगेको छ । यो संख्या जनवरीयताकै उच्च हो ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १५० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार ६२७ पुगेको छ । पछिल्लो २४ घन्टामा ७९३ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ६ सय ७२ रहेको छ । यस्तै ९०० संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड २१ लाख ७८ हजार ८९८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १२ लाख ९८ हजार ८३८ जना अर्थात ८९.२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६८ लाख ४ हजार ६०९ जना अर्थात ८१.४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी २ करोड ४० लाख ७५ हजार ४५१ अर्थात ४१.९ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।