दोस्रो चरणको मतदान सम्पन्न, मतगणना सुरु
काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजे सम्पन्न भएको हो । महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ जनाले मतदान गरेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । सोमबारको मतदानमा भने चार हजार ६७९ प्रतिनिधिले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो ।
पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो । पहिलो चरणमा भएको मतदानमा देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य उम्मेदवार प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
मंगलबार भएको दोस्रो चरणको मतदानअघि नै सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका थिए । मंगलबार राति नै राष्ट्रिय सभागृहमा मतगणना गर्ने बताइएको छ । पदाधिकारी र सदस्यहरूको मतगणना भने सभापतिको मतगणना सकिएपछि सानेपामा गरिनेछ ।
सभापतिको दोस्रो चरणको मतगणना सुरु
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा भर्खरै मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा ल्याएर अहिले मतगणना सुरु गरिएको छ ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन: मतदान भएको हो । दिउँसो साढे ३ बजेपछि झन्डै ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् । महाधिवेशनमा कूल ४ हजार ७४३ मतदाता थिए । सोमबारको मतदानमा भने ४ हजार ६७९ प्रतिनिधिले मतदान गरे । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ ।
पहिलो चरणमा भएको मतदानमा देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य उम्मेदवार प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । मंगलबार भएको दोस्रो चरणको मतदानअघि नै सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका थिए । पदाधिकारी र सदस्यहरूको मतगणना भने सभापतिको मतगणना सकिएपछि सानेपामा गरिनेछ ।
कांग्रेस महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।