स्थानीय कन्सर्भेटिभ पार्टीको महिला प्रमुख बनिन एनआरएनए यूकेको निबर्तमान अध्यक्ष पुनम गुरुङ
लन्डन । बेलायतको नेपाली समुदायमा अगुवा महिला नेतृ एनआरएनए यूकेको निबर्तमान अध्यक्ष पुनम गुरुङ आफु बस्ने क्षेत्र; बेजिङस्टोकको स्थानीय कन्सर्भेटिभ पार्टीको महिला प्रमुखमा नियुक्ती भएकी छिन् । एनआरएनए यूकेको इतिहासकै पहिलो र एक मात्र महिला अध्यक्ष बनेर ईतिहास रचेकी नेतृ गुरुङले स्थानीय कन्सर्भेटिभ पार्टीको महिला प्रमुख बनेरा अर्को किर्तिमान रच्न सफल भएकी छिन् । बेजिङस्टोक कञ्जरभेटिभ एशोसिएसनले हालै उनलाई कञ्जरभेटिभ वुमन अर्गानाइजेसनको ‘चेअर’ मा नियुक्त गरेको हो ।
यससँगै नेतृ पुनम गुरुङ बेलायतको राजनीतिमा बिस्तारै अघि बढ्दैछिन । गत डिसेम्बर ३ तारिख सांसद मारिया मिलरको उपस्थितिमा एक कार्यक्रमबीच पार्टी कमिटीले श्रीमती गुरुङलाई नयाँ जिम्मेवारीमा नियुक्ती गरेको हो । उक्त नियुक्ती कार्यक्रममा बेजिङस्टोक कञ्जरभेटिभ एशोशिएशनका अनररी सेक्रेटरी तथा साउथ इष्ट इंग्ल्यान्ड सदस्यता विभाग उपप्रमुख एन्ड्रु हेन्डरसन, एशोशिएशन अध्यक्ष नाइजेल म्याकनेयर स्कट र प्रमुख एफी ग्र्यान्ट, काउन्सिलर लारा म्याकुनारा लगायतका पार्टी नेताहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानीय काउन्सिल लिडर अरुण मुलम्मालानेनी र काउन्सिलरहरु जय गनेश, समीर, अबिगेइल र धनपति, कोषाध्यक्ष टिम, बेजिङस्टोक हिन्दू कम्युनिटीका अध्यक्ष किशोर पटेल लगायत पनि कार्यक्रममा उपस्थित थिए ।
लामो समयदेखी सामाजिक कार्यमा (समाजसेवामा) सकृया गुरुङ स्थानीय बेजिङस्टोक नेपाली कम्युनिटीको सल्लाहकार हुन । यस क्रममा उनले स्थानीय नेपाली समाजहरु र ब्रिटिश कम्युनिटीहरुसँग मिलेर थुप्रै सामाजिक कार्यहरु गर्नुभएको थियो । मेरो आफ्नो नेत्रित्व र सामाजिक क्षेत्रमा मैले पुर्याएको योगदानको आधरमा पार्टीले मलाई उक्त जिम्मेवारी दिएको हुनुपर्दछ- श्रीमती गुरुङले खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथानेलाई भन्नुभयो । अब मैले पार्टीको महिला प्रमुखका रुपमा स्थानीय महिलाहरुलाई राजनीतिमा आकर्षित र प्रोत्साहित गर्नु मुख्य जिम्मेवारी रहनेछ । “सामाजिक संस्थामा होस् वा राजनीतिमा, मेरो मुख्य चाहना समाजसेवा हो” उनले भनिन् । ‘बेजिङस्टोक कञ्जरभेटिभ पार्टीले दिएको जिम्मेवारीलाई मैले ठूलो अवसरका रुपमा सदुपयोग गर्नेछु ।’ श्रीमती गुरुङ ढ्रिढ छिन् । उनको कार्यकाल आगामी तीन वर्ष रहनेछ ।
बेजिङस्टोक क्षेत्रमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले ५० वर्षभन्दा लामो समयपछि चेयरवुमन (महिला प्रमुख) नियुक्त गरेको हो । उक्त जिम्मेवारी प्राप्त गर्नेमा गुरुङ नेपाली समुदायबाट मात्र नभइ जातीय अल्पसंख्यक समुदायबाटै पहिलो हुन् । बेलायतमा प्रपर्टी, हस्पिटालिटी क्षेत्रका विभिन्न व्यवसायमा संलग्न गुरुङले नेपालमा त्रिचन्द्र कलेजबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेकी छन् । त्यसबाहेक बेलायतकै अग्रणी तमुधिं यूकेको आमा समूहकी संस्थापक अध्यक्ष रहेकी गुरुङ विगत ८ वर्षदेखि ‘रेस फर लाइफ’ मार्फत् क्यान्सर रिसर्च यूकेको सहयोगमा खटिंदै आएकी छन् ।