कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा, अरू को-को निर्वाचित?

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्माले ६१२ मत ल्याएर सभापति जितेका हुन् । सभापति पदका अर्का उम्मेदवार अर्जुन जोशीले ५२८ मत ल्याएका थिए। जोशी सभापति शेरबहादुर देउवा पक्षका हुन् । सभापति जितेका शर्मा कांग्रेस कास्कीका ३ कार्यकाल जिल्ला सभापति भएका थिए। संसदीय निर्वाचन ३ पटक लडेपनि सफल भने भएनन् । उनका प्रतिस्पर्धी जोशी कांग्रेस पर्वतका पूर्वसभापति हुन् भने तीनपटक सांसद जितेका हुन्। जोशी हाल कांग्रेस केन्द्रीय सदस्य समेत छन् ।

प्रदेश उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ निर्वाचित भएका छन् । तिवारी स्याङ्जाका वालिङ नगरपालिकाको उपमेयर हुन् । यस्तै श्रेष्ठ गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री हुन् । श्रेष्ठ पनि स्याङ्जाबाट प्रदेश सभामा निर्वाचित भएका थिए। पौडेल पक्षका तिवारीले ६२४ मत ल्याइन् भने देउवा पक्षका श्रेष्ठले ५५६ मत पाएका थिए ।

महामन्त्रीमा पनि पौडेल पक्षका किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर विजयी भए । लामिछाने कांग्रेस नवलपुरका निवर्तमान सभापति एवं गण्डकी प्रदेश सांसद हुन् ।

यस्तै महिला सहमहामन्त्रीमा ५५२ मत ल्याएर कोपिला रानाभाट विजयी भइन् । उनी पनि बरिष्ठ नेता पौडेल प्यानलकी हुन् । खुला सहमहामन्त्रीमा रमेशकुमार पाण्डेले ६१८ मत र रामचन्द्र जोशीले ५६९ मत पाएर विजयी भए । उनीहरु पनि पौडेल प्यानलका हुन् । पाण्डे लमजुङको मध्यनेपाल नगरपालिकाका मेयर हुन् भने जोशी पर्वतको कुश्मा नगरपालिकाका मेयर हुन् ।

शनिबार भएको मतदानको आइतबार बिहान मतगणना सकिएको थियो । एक हजार एक सय ६५ मतदातामध्ये एक हजार एक सय ४६ मत खसेको थियो । सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति थिए । २०४८, २०५१ र २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी भए पनि उनी पराजित बनेका थिए । राष्ट्रिय सभा सदस्यसमेत भएका उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि भएका थिए ।