सराङकोट जाने अन्नपूर्ण केबलकारको सफल परीक्षण
कास्की — पोखरामा पहिलो पटक निर्मित केबलकारको परीक्षण सफल भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले निर्माण गरेको केवलकारको मंगलबार परीक्षण गरिएको थियो । सञ्चालक तिर्थराज त्रिपाठीका अनुसार फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा परीक्षण गरिएको थियो । परीक्षणमा कुनै पनि समस्या नदेखिएको उनले बताए ।
आगामी जनवरी १ देखि व्यावसायिक रुपमा सञ्चालनको तयारीमा कम्पनी छ । केबलकारमा जडित डिब्बा (गुन्डला) र टावरको जडान परीक्षण गर्न जापानबाट ७ प्राविधिकको टोली आएको थियो । जापानी निपुन केवलबाट ओचीआई नेतृत्वको टोली एक साताअघि आएर अन्तिम चराणको काम गरिरहेको उनले बताए ।
कोरोना महामारी र निर्माण कम्पनीले पटकपटक म्याद थप्दा आयोजना निर्माणमा तोकिएभन्दा ४ वर्ष ढिलो भएको कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि सेदीबगरबाट ७ मिनेटमै सराङकोट पुग्न सकिन्छ । अहिले गाडीमा करिब ३० मिनेट लाग्छ । नेपालीका लागि भाडा (जाने र आउने) ६ सय रुपैयाँ तोकिएको छ । विदेशीलाई १५–२० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि विशेष छुटको व्यवस्था हुने त्रिपाठीले बताए । उनका अनुसार आयोजनाको लागत करिब २ अर्ब पुगेको छ । २.४ किलोमिटर दूरीमा १८ टावर र १८ वटा डिब्बा रहनेछन् । कम्पनीले हाल करिब २५ जनालाई रोजगारी दिँदै आएको छ भने व्यावसायिक रुपमा सञ्चालन भए ८० जनालाई रोजगारी दिने जनाएको छ ।
प्राविधिक इन्चार्ज डिएन कायस्थले छिट्टै लोड परीक्षण गरी व्यावसायिक रूपमै केबलकार सञ्चालन गर्ने तयारीमा रहेको बताए । उनका अनुसार बिहीबारदेखि नियमित परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षणका सबै चरण पार गरेपछि मात्र व्यावसायिक रूपमा सञ्चालन गरिने त्रिपाठीको भनाइ छ ।