प्रधानन्याधीशलाई विदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव
काठमाडौं : सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई बिदामा बस्न सुझाव दिएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न आग्रह गरेका हुन् ।
नेताहरूले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवहाक न्यायाधीश तोकेर अदालतको काम कारबाही अघि बढाउन सुझाव दिएका हुन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवहाक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको काम कारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।
प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरस संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् । नेपालको संविधानको धारा १२९(६) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले सर्वोच्च अदालतमा उपस्थित हुन नसकेमा वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ। तर, बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका जबराले बिदा लिएका छैनन् ।
सर्वोच्च अदालतमा बुधबारबाट गोला प्रक्रियाबाट पेसी तोकिएको छ । तर प्रभावकारी रूपमा इजलास सञ्चालन हुन सकेन। प्रधानन्यायाधीशको राजीनामा माग्दै लामो समयदेखि कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् ।