कांग्रेस जिल्ला अधिवेशनहरुमा कुटाकुट र गोली, देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा
काठमाडौं : कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा टक्कर देखिएको छ । हिमाली जिल्लामा दसैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशन गरेको थियो ।
प्रदेश २ का ८ जिल्ला, रसुवा, धनकुटालगायत २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ । कतै अधिवेशन स्थगन गरिएको छ भने कतै क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि जिल्ला अधिवेशनका लागि समय अपुग हुने अवस्था छ ।
प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेपछि जिल्ला अधिवेशन नहुँदा पनि महाधिवेशनलाई असर नहुने निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले बताए। उनले भने, ‘प्रदेश अधिवेशन हुँदासम्म जिल्ला पनि सबै ठाउँमा अधिवेशनको प्रक्रियामा जान्छ होला । यद्यपि, अब हामी प्रदेशतिर फोकस भएका छौं।’ जिल्ला निर्वाचनअन्तर्गत मोरङमा भने दोस्रोपटक मतदान भएको छ। कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ ।
काठमाडौंमा सबजु बानियाँले चुनाव जितेका छन्। बानिया यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिका सभापति थिए । उनलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ थियो । उनका निकटतम प्रतिस्पर्धी उपेन्द्र कार्की उपविजेता बन्न पुगे कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको सहयोग थियो । सबै पदाधिकारीमा बानियाँकै प्यानल निर्वाचित भएको हो। काभ्रेमा पनि देउवा–सिटौला पक्ष मिलेको थियो । झापामा भने प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेता देउमान थेवेले सभापतिमा जितेका छन्। झापामा विश्वप्रकाश एक्लै र बाँकी समूह सबै सिटौलातिर थियो । प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् ।
वरिष्ठ नेता पौडेलको क्षेत्र गण्डकी प्रदेशमा स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा देउवा समूहका सभापति निर्वाचित भएका छन्। गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ। कास्कीमा पनि देउवा समूहले जितेको छ। तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको थियो। अन्ततः देउवा पक्षका नेता आलेले जिते ।
बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने तय भएको छ। लुम्बिनीमा भने पौडेल समूह अगाडि आएको छ । नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पामा पौडेल समूह र रूपन्देही तथा रुकुमपूर्वमा देउवा समूहबाट जिल्ला सभापति चुनिइसकेका छन् ।
५२ जिल्लाको नतिजा आउँदासम्म सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको हो। सिटौला पक्षबाट भने झापामा एक सभापति मात्रै जितेका छन् । देउवा र पौडेल पक्षले २६÷२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन् । सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आ–आफ्ना पक्षधरले जितेको दाबीसमेत गर्दै आएका छन् । १३औं महाधिवेशनमा जिल्लाको नेतृत्वमा कर्णाली प्रदेशका हुम्लाबाहेक नौवटा जिल्लामा पौडेल समूह थियो । यसपटक नतिजा उल्टिएको छ। कर्णालीका १० मध्ये ८ जिल्लामा देउवा समूहले जितेको छ भने २ जिल्लामा मात्र पौडेल समूह विजयी भएको छ ।
निर्वाचन कार्यतालिका हेरफेर
प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम थियो । तर, यसलाई मंसिर १७ गते सारिएको छ। मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए ।
सोमबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिसँग छलफल गरेका थिए। छलफलमा नेताहरूले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए ।
महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गरेको छ। जसअनुसार निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। शीर्ष नेताहरूसँगको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ। २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । २७ गते बिहान ८ बजे मतदान हुनेछ। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।
सर्लाहीमा गोली नै चल्यो
सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा कांग्रेसको वडा अधिवेशनका क्रममा मतदान अधिकृतलाई नियन्त्रणमा लिन खोज्दा झडप भयो । घटनामा ३ सुरक्षाकर्मी, १ मतदान अधिकृत र १ कांग्रेस कार्यकर्ता घाइते भएको निर्वाचन समितिले बताएको छ ।