एमाले महाधिवेशन : मतदान सकियो, ४ बजे परिणाम आउने

चितवन : नेकपा एमाले जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । सहमति नजुटेपछि एमालेको अध्यक्षसहित अन्य पदका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको हो । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको थियो ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ।पदाधिकारीतर्फ अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।

सचिवतर्फ भने गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीम प्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् । केहि केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।

प्रविधिमैत्रीमा जोड दिदै एमालेले १० औं ‍ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको थियो । अबको केहि समयपछि मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

दुई हजार ९६ मत खस्यो, ७७ अनुपस्थित

निर्वाचनमा दुई हजार ९६ मत खसेको हो । एमालेका दुई हजार १७३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ७७ जना मतदाता अनुपस्थित रहे । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतिको प्रयास गरिए पनि नभएपछि आज बिहान ४ बजेबाट मतदान सुरु भएको थियो । बिहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । मतदान ११:१५ बजे सम्पन्न भएको हो ।


अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । केही सदस्य पदका लागि पनि मतदान भएको हो । निर्वाचन आयोगका अनुसार अबको दुईदेखि तीन घण्टापछि परिणाम आउनेछ ।