मेस्सीलाई कीर्तिमानी सातौं पटक बालोन डी ओर

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ ।

मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड जितेका हुन् । यस अघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने ।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौं स्थानमा रहे । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

त्यस्तै महिलातर्फको बालोन डी’ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर हात पारे ।

बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे । इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।