उपचार खर्च तिर्न नसक्दा अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु

बिराटनगर । शुक्रबार बिहान विराटनगरको एक अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका-१ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलाबाट हामफालेका थिए । मण्डललाई उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि घर जान दिएको थिएन ।

प्रहरीका अनुसार उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालबाट हाम फालेको बताएको छ । मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

छारे रोग र मानसिक समस्या भएपछि उनलाई उपचारका लागि मंसिर ३ गते अस्पताल ल्याइएको थियो । आइसियूमा राखेर अस्पतालले उनको उपचार गरिएको थियो । आइसियूबाट वार्डमा सारेपछि घर लैजाँदा हुने भन्दै अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारबापतको २१ हजार रुपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।

मृतकका आफन्त श्रीराम कामतले उपचारमा लागेको रकम नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले राखेको थियो । अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३८ हजार रुपैयाँ खर्च भएको थियो । उपचारमा लागेकोमध्ये १७ हजार रुपैयाँ मात्रै परिवारले तिर्न सकेको थियो । २१ हजार रुपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले घर जान दिएको थिएन । अस्पतालमा उनकै सासू कुरुवा बसेकी थिइन्। प्रहरीका अनुसार सासू शौचालय गएका बेला मण्डल हामफालेका थिए ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्चार्ज भएकोले अस्पतालले जतिसक्दो चाँडो घर लैजानू भनिरहेको भए पनि परिवारका सदस्यले नै ‘पैसा तिरेर मात्रै लैजान्छौं’ भन्दै बिरामीलाई राख्दा यस्तो घटना भएको दाबी गरे ।