एमालेमा विधान संशोधन प्रस्ताव, सर्वसम्मत गराउन संख्या बढाइयो
चितवन । नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउन प्रस्ताव गरेका छन् । गत असोजमा काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । यसपटक चितवनको सौराहामा शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीसँगै पदाधिकारी संख्या पनि बढाउने प्रस्ताव राखेका छन् ।
विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको प्रस्ताव अघि सारिएको हो । नेकपा एमालेको १०औं महाधिवेशन यही शुक्रबार चितवनमा सुरु भएको छ । शनिबार बन्द चितवनको सौराहामा बन्द सत्र सुरु हुनेछ । तर त्यसअघि नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार राति सौराहामै बसेको छ ।
यस्तो बन्दैछ नयाँ संरचना
नयाँ प्रस्ताव अनुसार अब एमालेमा ३०१ केन्द्रीय सदस्य रहनेछन् । यस्तै ९९ जना पोलिटब्यूरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् ।
साथै १९ जना पदाधिकारी हुने प्रस्ताव अघि सारिएको छ । जसमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् । पदाधिकारीमा चुनाव हुने देखिएपछि सर्वसम्मत गर्नका लागि संख्या बढाइएको एमालेका एक नेताले बताए ।
यसअघि भीम रावलले अध्यक्षमा र उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । यस्तै योगेश भट्टराईले सचिवमा उम्मेदवारी दिने बताएका थिए । त्यस्तै पृथ्वीसुब्बा गुरुङले महासचिवमा उम्मेदवारी दिने बताउँदैआएका थिए ।