कोरोनाको कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

बिबिसी नेपाली ।

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा “उच्च वा चरम दबाव” हुने चेतावनी दिएको छ ।

युरोपमा अहिले कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको छ जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछ । फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन् । तर केही देशहरूमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाको व्यापक विरोध भइरहेको छ। द नेदरल्यान्ड्समा आंशिक लकडाउनको घोषणासँगै केही रात हिंसक प्रदर्शन भएको थियो । डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ ।

“अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आकलन गरिएको छ,” डब्ल्यूएचओले मङ्गलवार भनेको छ । पुष्टि भएका कोभिडसम्बन्धी कारणले हुने मृत्यु हालैका दिनमा दोबर भएर दैनिक ४,२०० पुगेको डब्ल्यूएचओले बताएको छ । रुसमा मात्रै हालैका दिनहरूमा दैनिक मृत्यु सङ्ख्या १,२०० नाघेको छ ।

डब्ल्यूएचओका अनुसार ठूलो सङ्ख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरिअन्टको कारण युरोपमा सङ्क्रमण दर बढेको हो । डब्ल्यूएचओका युरोप निर्देशक डा. हान्स क्लुगले खोप नलगाएकाहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गरेका छन् । “अनावश्यक वियोग र जीवनको क्षति एवं यो हिउँदमा समाज र व्यवसायमा हुनसक्ने थप सङ्कटलाई रोक्न सहयोग गर्नु हामी सबैसँग अवसर र जिम्मेवारी छ,” उनले भने।

डब्ल्यूएचओको युरोप क्षेत्रमा युरोपेली राष्ट्रहरूका साथै इजरेल, ताजिकिस्तान र उज्बेकिस्तानजस्ता देशलाई राखेको छ ।