नेपाल बार एसोसिएसनको आन्दोलन जारी, दंगा प्रहरी हटाइयो दलहरुलाई ज्ञापन पत्र बुझाईदै

काठमान्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । प्रधानन्यायाधीशविरुछको तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।

न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो । कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ । आइतबार कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका थिए । सर्वोच्च अदालत परिसरभित्र शान्तिपूर्ण धर्ना कार्यक्रममा अवरोध गर्न सशस्त्र र दंगा प्रहरी परिचालन गरेको भन्दै उनीहरूले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन् ।

आइतबारको प्रदर्शनका क्रममा कानुन व्यवसायीहरूले ‘न्यायको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीमाथि दमन गर्न खोजिएको’ भन्दै गृहमन्त्रीको आलोचना गरेका थिए । कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरभित्र धर्ना दिन थालेयता सुरक्षाकर्मी बढाइएको छ ।

भर्खरै प्राप्त समाचार अनुसार अहिले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाइएको छ। सर्वोच्च परिसरमा हतियारसहित सुरक्षामा खटाइएका फ्रन्टलाइनका सुरक्षाकर्मी हटाइएको हाम्रा सहकर्मी प्रशान्त वलीले जानकारी दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुले दंगा प्रहरी हटाउन माग गर्दै आएका थिए । उनीहरुले आफ्नो शान्तिपूर्ण आन्दोनमा प्रहरी हस्तक्षेप भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा समेत माग गरेका थिए ।

धर्नाका क्रममा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी भएको थियो। सोही क्रममा कतिपय कानुन व्यवसायीहरु घाइते समेत भएका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म धर्ना कायमै राख्ने कानुन व्यवसायीहरुले बताएका छन् । उनीहरुले दिनहुँजसो सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका छन् ।

यसैक्रममा नेपाल बार एसोसिएसनले आज राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदैछन् । बारले संसद्‍मा रहेका सबै राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउन लागेको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै करिब ४ हप्तादेखि बार आन्दोलित छ ।